दोश्रो काठमाडौँ अन्तरराष्ट्रिय नाटक महोत्सव २०१० राजधानीमा सुरु


 

काठमाडौं – राष्ट्रपति डा रामवरण यादवले दोश्रो काठमाडौँ अन्तरराष्ट्रिय नाटक महोत्सव २०१० को बुधबार राजधानीमा उदघाटन गरेका छन् ।

गुरुकुलद्वारा आयोजित सो महोत्सवमा नेपाल, भारत, बङ्गलादेस, पाकिस्तान, संयुक्त  राज्य अमेरिका, बेलायत, रुस, थाइल्याण्ड, श्रीलङ्का, जर्मनी, फ्रान्सलगायत १६ राष्ट्रका नाटक प्रदर्शन गरिनेछ । महोत्सव मङ्सिर २१ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

सो अवसरमा राष्ट्रपति डा यादवले महोत्सवबाट अन्तरराष्ट्रिय भाइचारा, शान्ति र सद्भाव अभिवृद्धिमा प्रत्यक्ष योगदान पुग्ने र नेपालको रङगकर्म परिमार्जनमा थप मद्दत पुग्ने विश्वास व्यक्त व्यक्त गरे ।

उनलेले सवैले आ-आफ्नो ठाउँबाट आफूलाई कर्मशील बनाएको खण्डमा नयाँ पुस्ताको हातबाट नेपाल गौरवशाली हुने धारणा राखे । जीवन नाटक हुन्छ, नाटकमा जीवन हुन्छ भन्दै राष्ट्रपति डा यादवले रङ्गमञ्चमा खेलिने नाटक वास्तविक जीवनकै प्रतिबिम्व हुने बताए ।

कार्यक्रममा संस्कृतिमन्त्री डा मिनेन्द्र रिजालले जनस्तरबाट देशको कला संस्कृतिको जगेर्ना गरिरहेको गुरुकुललाई सहयोग गर्न आफू प्रतिबद्ध रहेता पनि केही कानुनी अप्ठयाराले गर्दा त्यसलाई पूरा गर्न नसकेको बताए । 

संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा पाँचौँ शताब्दीदेखि नै डवलीहरुबाट नाटक मञ्चन गर्ने गरिएको ऐतिहासिक तथ्य रहेको चर्चा गर्दै यसको बारेमा अध्ययन र अनुसन्धान हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा गुरुकुलका संयोजक सुनिल पोखरेल, प्रा. अभि सुवेदी, भारतीय दुतावासकी अपुर्वा श्रीवास्तवले कला र संस्कृति भौगोलिक सीमाभित्र नबाँधिने विचार व्यक्त गर्नुभएको थियो । सो अवसरमा कर्णाली क्षेत्रको लोक संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।

प्रथम काठमाडौँ अन्तरराष्ट्रिय नाटक महोत्सवको दुई वर्ष अघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उदघाटन गरेका थिए ।