-विरही रिजाल
आबुधाबी यूएई
१९ नोभेम्वर-आबुधाबी,यूएई – मुस्लिमहरुको दोस्रो ठूलो चाड बक्रईदको अवसर पारेर लुम्बिनी युवाक्लव आइकाड सिटीले ईद मिलन तथा यूएईव्यापी भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । यही १६ नोभेम्वर २०१० देखि शुरु भएको उक्त प्रतियोगिता नेपाल पत्रकार महासंघ यूएई शाखाका सहसचिव गिरधारी रिजालको आतिथ्यतामा दुई दिनसम्म चलेको थियो ।

अबुधाबीको आइकाड सिटीमा सम्पन्न उक्त प्रतियोगितामा यूएईका प्रवासी नेपालीहरुको ठूलो जमघट रहेको थियो भने प्रतियोगितामा जम्मा १८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतिगोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि फ्युचर बी टिमका खेलाडी कुमार गुरुङ्गले हात पारे भने प्रतियोगिताको सेकेण्ड रनरअप पनि फ्युचर बी टिम बनेको थियो । यद्यपि प्रतियोगिताको फस्ट रनरअपको उपाधि भने आयोजक टिम लुम्बिनी युवा क्लवकै पोल्टामा पर्यो ।

प्रतियोगिताको प्रथम पुरस्कार दुबईदेखि प्रतिनिधित्व गरेको फिडेक्स टिमले हत्याउँन सफल भयो । उडायो सपना सबै हुरीले भन्ने गीतबाट चलेको बेजोड हुटिङ्गका साथ समर्थन पाएको यस टिमले आयोजक टिमसँग कडा प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगितामा विजयी टिमहरुलाई अतिथि तथा पत्रकार रिजालको बाहुलीबाट शील्ड मेडल र नगद पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा उपस्थित भै खेललाई रोमान्चकारी बनाई सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न गर्न सहयोग पुर्याउँने सबैलाई आयोजक लुम्बिनी युवाक्लव आइकाड सिटीले धन्यवाद ज्ञापन गरेको छ ।