बीसखुट्टे दरबार, सम्भावनाको महत्त्वपूर्ण द्वार (तस्बिर सहित )

1

 – मुक्तिनाथ भुसाल

अर्घाखाँची – नेपालको इतिहासमा अमीट नाम खोपेका जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएका थिए भन्ने कुरा धेरैले जानकारी नराखेका या हेक्का नपाएका हुन सक्छन्न् । उनै ऐतिहासिक पात्र जंगबहादुर द्वारा निर्माण गरिएको लामपाटी दरबार अर्घाखाँचीमा रहेको छ ।

नेपाल भरकै एक मात्र यो बीसखुट्टे दरबार लामो समय देखी भत्किने अवस्थामा रहदै गर्दा यति वेला यसको मर्मत तथा संरक्षणका कार्यहरु समेत भईरहेका छन् ।

ad

लामपाटी दरबारका बारेमा सबैका आ–आफ्ना राय रहेका छन् । कोही भन्छन, जंगबहादुर राणा यही दरबारमा जन्मिएका हुन त आफू जन्मिएको स्थान भएकै कारण जंगबहादुरले यो दरबार बनाएका भन्ने पनि धेरै छन । जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएको यथार्थतामा भने दुई मत पाउन सकिँदैन र यही नै वास्तविकता हो ।

साविक बाङ्ला गाविस हाल सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरामा जंगबहादुर राणा जन्मिएको प्रमाण कीर्तिपुर विश्वविद्यालय भित्रको २७ नम्बर कोठामा पुगी दुई हजार सालभन्दा अगाडिका इतिहास खोज्ने हो भने भेटाउन सकिन्छ ।

1

यसरी खोज्ने क्रममा पहिला रिडी अनि अर्गेली भुरे राजा त्यसपछि अर्घाखाँचीको बाङ्ला मथुरा भन्ने ठाउँमा जंगबहादुर जन्मिएको कुरा घर बुनाले बानेको मुठ्ठाको पहाडिया कागजमा उल्लेख गरिएको कुरा आफ्नै आँखाले देखेर आएका स्थानीय बूढापाका सहित स्वामी कुशलानन्द सरस्वतीले जानकारी गराउनु भएको छ ।

त्यसैगरी युवा समाजसेवी व्यक्तित्व राजेन्द्र भुसाल पनि जंगबहादुर मथुरामा जन्मिएको दाबा गर्नुहुन्छ । भुसाल पूर्व वडा अध्यक्षका रुपमा परिचित रहनु भएको छ ।

ad

वास्तविकताको गहिराइमा पुग्दै गर्दा जंगबहादुरका बाबुको दैलेखमा जागिर भएको कारण आफ्नी दुलहीलाई नेपाल (हालको काठमाडौं) बाट दैलेखमा लगेका र दुलही गर्भवती बनेकी कारण केही सहेलीका साथ नेपाल जान दैलेखबाट पठाउने क्रममा उनी अर्घाखाँचीको मथुरामा आउना साथ बिमारी परिन र मथुराको चौपारीमै छोरा जन्माइन् ।

एक रात उक्त चौपारीमा बास बसेपछि अर्को दिन नवजात छोरालाई लिएर करिव ४ किलोमिटर अगाडी जिल्लाकै बल्कोट चौपारीमा बसी विधिपूर्वक न्वारान सम्पन्न गरी आफ्नो छोरा अर्थात जंगबहादुर राणालाई लिई रिडी हुँदै डुङ्गा चढेर स्याङ्जा, पोखरा, लमजुङको बेसीशहर हुँदै नेपाल पुगेकी थिइन् ।

कालान्तरमा जंगबहादुर राणा मुलुकको प्रधानमन्त्री बनेपछि आफ्ना जेठान शहन सिंह कर्नेललाई मथुरामा पठाए र उनको इच्छा अनुसार दश महिना आफूलाई कोखमा राखी जन्मदिने आमाको सम्झनामा नेपालकै एक मात्र बीसखुट्टे दरबारको निर्माण गराए। आमाले बास बसेका स्थानहरू, जस्तै बल्कोटमा पौवा, पोखरा भन्दा अगाडि दर्शनढुङ्गामा पौवा, लमजुङको बेसीशहर जाँदा ढुङ्गे गुफा भन्दा अगाडि रानी पोखरीमा पौवा निर्माण गराए।

सबै पौवाका एउटै डिजाइन भएपनि बीसखुट्टे दरबार भने उनी आफू जन्मिएको स्थान मथुरामा मात्रै बनाएका थिए ।काभ्रेपलाञ्चोक देखि पनौती जाने बाटोको चोकमा, काठमाडौंमा र ललितपुर लगायतका स्थानमा उनले पौवा वा दरबार बनाएका भएपनि यो नै नेपालको एक मात्र बीसखुट्टे दरबार भएको कुरा आफ्नो प्रवचनमा योगी नरहरिनाथले समेत उल्लेख गरेकोे कुरा यहाँ स्मरणीय छ।

स्थानीय बूढापाकाको भनाइ अनुसार सुरुवातमा हालका टन्डनहरू खत्री र जंगबहादुर कुँवर थिए। जंगबहादुरकै पालामा खत्रीलाई टन्डन र कुँवर अर्थात आफूलाई राणा बनाएको कुरा इतिहासकारहरुले बताउदै आएका छन् ।

राजा रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै काटेर मार्ने बाल नरसिंह कुँवर जस्ता साहसी व्यक्तिका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धनु चलाउने, घोड सवार गर्ने जस्ता कार्यमा सानै उमेर देखि नै आफ्नो बुबाबाट दक्ष बन्दै गएका थिए।

राजा राजेन्द्र विक्रम शाह सिकार खेल्न जाँदा जिउँदो हात्ती पक्रने काम गरेर चर्चामा आएका जंगबहादुर राजा–रानीको प्रिय पात्र बन्नका लागि तत्कालीन प्रधानमन्त्री अर्थात उनैका सहोदय मामा माथवर सिंह थापाको हत्या गरी दरबारको नजिक पुगेको इतिहासमा उल्लेख गरिएको छ।

कान्छी महारानी राज्य लक्ष्मी देवीका प्रमुख सल्लाहकार गगन सिंहको २४ सेप्टेम्बर १८४६ मा रहस्यमय हत्या भएपछि हत्यारा पत्ता नलागुन्जेल सम्म अन्नपानी नखाने निर्णय सहित रानी कोतमा प्रवेश गरी सबै निजामती, फौजी र भारदारलाई बोलाउन लगाएकी र राजा राजेन्द्रले आफ्नी रानीको क्रोध नियन्त्रण नगरी त्यहाँबाट पन्छिएका कारण जंगबहादुरको चलाखीमा प्रमुख भारदारहरूलाई खतम गराएका, अनि उनी शक्तिशाली व्यक्तिका रूपमा प्रमुख पद पाएर महारानी राज्यलक्ष्मी देवीको विश्वास पात्र बन्न पुगेका थिए भन्ने इतिहास त सबैले बुझेकै कुरा हो ।

1

संक्षेपमा भन्नुपर्दा मुलुकका शक्तिशाली मानिने भारदारहरूलाई चर्तुयाईका साथ समाप्त पार्दै तत्कालीन राजा र सर्व शक्तिमान महारानीको शक्ति समेत निस्तेज तुल्याइ दिएका र आफूलाई ‘श्री ३ महाराज’ घोषणा गराई आफ्नै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउन सक्ने आँटिला व्यक्तिको जन्म भएको स्थानमा निर्माण गरिएको दरबार भावी पुस्ताका लागि पनि जोगाइ राख्नु पर्दछ भन्ने सोच अनुरूप जंगबहादुर राणाले निर्माण गरेको दरबारको यथार्थता यस अघीका बर्षहरुमा समेत जानकारी गराउदै आएको विषय हो ।

बि.सं. १९३४ मा देहान्त भएका जंगबहादुर राणाद्वारा जन्मस्थलको सम्झनामा निर्माण गरिएको लामपाटी दरवार कैयौं बर्षसम्म मर्मत नगरिदा जीर्ण र दयनीय अवस्थामा पुग्दै गर्दा बीसखुट्टे दरबारको अस्तित्व सदैका लागि मेटिने खतरा यसपाली टरेको छ ।

मुलुक संघियतामा गएपछि समपन्न स्थानिय तहको दोस्रो निर्वाचनवाट सन्धिखर्क नगरपालिकाको नगर प्रमुख बन्नु भएका सामाजिक तथा धार्मिक व्यक्तित्व कृष्ण प्रसाद श्रेष्ठको खटनपटन र सक्रियतामा नगरपालिका तथा प्रदेश सरकारको साझेदारी मा यो दरवार संरक्षणका लागि काम भईरहेका छन् ।

यो दरवार तिन वर्षमा समपन्न गर्ने गरि नगरप्रमुख श्रेष्ठको प्रयाशमा प्रयाप्त बजेट परेकोले दरवारका वालहरु यति वेला चिटिक्क देखिएका छन् ।यतिवेला सम्म गरिएका कार्यहरु गुणस्तरीय ढंगवाट गरिएको नेपाली कांग्रेसका नेता तथा स्थानिय समाजसेवी शेषकान्त भुसालले जानकारी गराउनु भएको छ ।

वि.स ०८ सालभन्दा अगाडि दरबार नजिकै पानीको पोखरी र थुप्रो जमिन भएको भए पनि हाल पोखरी भेटाउन सकिँदैन र जमिन पनि साँघुरिँदै गएको छ। राजा महेन्द्रले जिल्ला भम्रणको क्रममा यो दरबारमा रात बिताएको स्मरण स्थानीय बूढापाकाहरू गर्दछन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोरुसिङे चोकदेखि ६८ किलोमिटर पक्की सडकमा सन्धिखर्क सदरमुकाममा आउन सकिन्छ ।

सदरमुकाम सन्धिखर्कवाट १२ किलोमिटर पक्की सडकको यात्राद्वारा लामपाटी दरबारमा पुग्न सकिन्छ। यो ऐतिहासिक स्थानमा विगतको बर्षहरुमा पुगेकालाई अर्घाखाँची जिल्लामा जनप्रतिनिधिहरू नै नभएका हुनकि भन्ने सोचलाई यसपाली नगरप्रमुख श्रेष्ठले मेटाउनु भएको छ ।

यस ऐतिहासिक यथार्थको मननगर्दै अर्घाखाँचीको मथुरामा जंगबहादुर राणा जन्मिएका र बीसखुट्टे लामपाटी दरबार नेपालकै एउटा महत्वपूर्ण निशानी हो भन्ने कुरा प्रचार प्रसार गर्न सके अर्घाखाँचीको अलवा सिङ्गो मुलुकले नै पर्यटन विस्तार गरी लाभ लिन सक्दछ ।

लामपाटि दरवार बाट बढिमा ५ मिनेटको पैदलयात्रामा गोपेश्वर पिठ पुग्न सकिन्छ । अर्घाखाँचिमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरु मध्ये गोपेश्वर पिठ पनि महत्वपुर्ण हो । करिव १३ रोपनि जग्गा मन्दिर सँग रहे पनि यहाँका पुजारि र चौकिदारलाई बिहान साझ पेट पुजा गर्न पनि मुस्किल बन्दै गएको छ ।

अर्को अचम्मको कुरा, मन्दिर नजिकै रहेको वृद्ध आश्रममा बसोबास गर्न चाहने वृद्धहरुले विहान साँझ पकाएर खाने रासनपानीको जोहो आफैले गर्नुपर्ने हुन्छ ।मथुराको गोपेश्वर पिठमा शिवालय , राधाकृष्ण , गणेश जी , लक्ष्मीनारायण , राम , लक्ष्मण , सिता , ज्ञानमन्च , पुरानो धर्मशाला र वृद्ध आश्रम रहेका छन् ।

गोपेश्वर मन्दिर भित्र केही वर्ष अगाडी संस्कृत पाठशाला संचालन गरीएको भएपनि हालका दीनहरुमा बजेट अभावका कारण एका देशको कथा बनेको छ ।गोपेश्वर मन्दिर र लामपाटी दरवार देखी वढीमा १० मिनट पैदल यात्रामा पुग्न सकिने मथुरा खोलालाई २०५२ सालमा २४ लाख गायत्री मन्त्र जप गरी तिर्थ स्थान वनाईएको कारण पनी त्यो क्षेत्रको बढी नै महत्ब भएको बुझिएको छ ।

 लेखक : मुक्तिनाथ भुसाल

तस्बिर : मुक्तिनाथ भुसाल ,अर्घाखाची ।

ad