नेपाल टेलिकमले आजदेखि आईपी प्रविधि मार्फ सस्तो दरमा अन्तर्राष्ट्रिय कल सेवा सुरु गर्दैछ । जिएसएम प्रिपेड तथा पोष्टपेड सेवा, सिडिएमए पोष्टपेड तथा प्रिपेड सेवा, पिएसटीएन सेवा, प्रिपेड कलिङ कार्ड तथा प्रिपेड क्रेडिट लिमिट खाता र अन्तर्राष्ट्रिय कल सुविधा भएका भिस्याट सेवाबाट एक्सेस कोड १४२४ डायल गरी सस्तो दरमा आइपी कल सञ्चालन हुने टेलिकमले जनाएको छ ।
यो कल सेवा प्रयोग गरी समुह क अन्तरगत पर्ने क्यानडा, चीन, हङकङ, भारत, सिङ्गापुर,थाइल्याण्ड र अमेरिकामा प्रतिमिनेट ४ रुपैयाँमा फोन गर्न पाइने भएको छ । यसैगरी, समुह ख अर्न्तर्गत पर्ने मलेशिया, दक्षिण कोरिया र मकाउका लागि प्रति मिनेट ६ रुपैयाँ र समुह ग अन्तरगत पर्ने इजरायल, ताइवान, बङ्गलादेश र पाकिस्तानका लागि प्रति मिनेट ८ रुपैयाँमा फोन गर्न सकिने छ ।
यस्तै समुह घ अन्तर्गतका जापान र रुसका लागि प्रति मिनेट १० र समुह ङ मा पर्ने बेलायत र अष्ट्रेलियाका लागि प्रतिमिनेट १२ रुपैयाँमा फोन गर्न सकिने नेपाल टेलिकमले विज्ञप्ती निकालेर जनाएको छ ।