नेपालगन्ज,कात्तिक ४- पत्नीलाई राम्रोसँग हेर्न र बोल्न नपाउँदै उदयपुर-५, लोनियागाउँका १६ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको छ।
विवाह गरेकी पत्नीको उमेर सानो भएका कारण माइतीमै छोडेर आएका सञ्जय बृजवासीको दशैंको बेला पूजा गरेको दुर्गाको मूर्ति नदीमा सेलाएर फर्कने क्रममा मंगलबार ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो। उनको मृत्यु पछि घर र ससुराली पक्षमा रुवावासी छाएको छ।
घटस्थापनादेखि ब्रत बसेका सञ्जयको दुर्गाको मूर्ति सेलाएर फर्कंदा मृत्यु भएको हो। दुर्घटनामा गाउँका १७ जना घाइते भएका छन्। घाइतेको भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य छ।
दुर्गाको मूर्ति राप्ती नदीमा सेलाएर भे १ त ३०३६ नंको ट्याक्टरमा घर फर्कंदै गर्दा भएको दुर्घटनामा घाइते सञ्जयको उपचारका लागि लखनउ लैजाँदै गर्दा बीच बाटैमा मृत्यु भएको हो।



