नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक, नेपाल १ सय ४६ औँ स्थानमा

काठमाडौं, कात्तिक ९ – ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक गरेको छ। १ सय ७८ देशमध्ये भ्रष्टाचारको तहमा नेपाल १ सय ४६ औँ स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। भ्रष्ट्राचार घटाउने कूल दस अङ्कमा नेपालले २.२ मात्र प्राप्त गरेको छ। अघिल्लो वर्ष कुल १८० देशमध्ये नेपाल १४३ औँ स्थानमा रहेको थियो।
ट्रान्सपरेन्सीले प्रदान गरेको सूचकाङ्कको दस अङ्कले न्यून भ्रष्टाचार रहेको र ० अङ्कले बढी भ्रष्टाचार रहेको जनाउँछ।

नेपालले सन् २००४ मा दुई २.८, २००५, २००६ र २००७ मा २.५, २००८ मा २.७ र २००९ मा २.३ अङ्क पाएको थियो।


यो वर्षको सूचिमा डेनमार्क, न्यूजिल्याण्ड र सिङ्गापुरले ९.३ अङ्क प्राप्त गरी सबैभन्दा स्वच्छ मुलुकको रूपमा सूचिकृत भएका छन्। अफ्रिकी राष्ट्र सोमालिया १.१ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार रहेको मुलुकको रूपमा सूचिकृत भएको छ।


यस्तै एसियाली मुलुक म्यान्मार र अफगानिस्तानले पनि १.४ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुुने मुलुकको रूपमा सूचिकृत हुन पुगेका छन्।


यसैगरी भुटानले ५.७ अङ्क प्राप्त गरी दक्षिण एसियाली राष्ट्रमध्ये कम भ्रष्टाचार हुने राष्ट्रको रूपमा सूचिकृत भएको छ भने भारतले ३.३, श्रीलङ्काले ३.२, बङ्गलादेशले २.४ र पाकिस्तानले २.३ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकको रूपमा देखिएका छन्।


नेपालको अस्थिर राजनीतिका कारण सुशासन र भ्रष्टाचार नियन्त्रण ठूलो चुनौतिको रूपमा देखा परेको तथा राजनीतिक नेतृत्वमा आवश्यक प्रतिबद्धता र इच्छाशक्ति पनि नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ।


भ्रष्टाचार न्यून गर्न यस वर्ष सरकारका तीनवटै अङ्ग, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, पेसागत तथा व्यावसायिक सङ्गठनलगायत अन्य सरोकारवालसँग मिलेर सदाचार पद्धति बढाउन पहल गरिने ट्रान्सपरेन्सी इन्टरनेसनल-नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिए। -रासस