रुपन्देहीमा पर्यटन वर्ष अभियान तिब्र गतिमा

नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै रुपन्देही पर्रोहाका स्थानीय बासिन्दाले पर्यटक आकर्षित गर्ने अभियान थालेका छन् ।नेपाल भित्रिने पर्यटकको ध्यान खिच्न उनीहरुले प्रसिद्ध स्थलहरुको प्रचारप्रसार गरी पर्यटकलाई आकषिर्त गर्ने अभियान सञ्चालन गरेका हुन् । धार्मिक केन्द्र बन्दै गएको पर्रोहाको शिवज्योतिर्लिङ्ग बोलबमधाम तथा यहाँका पुरातात्विक स्थलको पहिचानका साथै नयाँ संरचना समेत निर्माण गर्न स्थानीय बासिन्दा जुटेका छन् ।पर्रोहालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जुटेका स्थानीय समुदायको पहलमा बोलबमधाम धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा स्थापित हँुदै आएको छ ।


गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि करिब ४० किलोमिटर उत्तरमा अवस्थित यो धाम लुम्बिनी पर्यटन चक्रपथका रुपमा रहेकाले यहाँका बासिन्दा लुम्बिनी आउने पर्यटकलाई पर्रोहामा पनि प्रवेश गराउने अभियानमा लागि परेका हुन् । बुद्धकालका यस क्षेत्रका पाँच ठूला सहरमध्ये पर्रोहा पनि एक भएको विश्वास गरिन्छ । यो स्थान पर्यटन विकासको राम्रो सम्भावना रहेको पर्रोहाका हेमन्त गिरी बताउनुहुन्छ ।बोलबमधाम व्यवस्थापन समितिका सल्लाहकार सीता घिमिरे बोलबमधाममा आइ जल चढाए मनोकामना पूरा हुने जनविश्वास रहेको बताउनुहुन्छ । स्वदेशका साथै भारतको विभिन्न स्थानबाट समेत लाखांै भक्तजन आउने यो स्थानमा पर्यटन वर्षमा अझ बढी पर्यटक आउने विश्वासका साथ लागिपरेको उहाँले बताउनुभयो ।


बोलबमधाम व्यवस्थापन समितिका उपाध्यक्ष रामनाथ हरिजन सबै दल र सङ्घसंस्था तथा जिविसले यस स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष ऋषिराम चौधरीले बोलबमधाम देशकै गहना भए पनि सरकारको ध्यान नपुग्दा पछाडि परेको अवस्थामा आफूहरुले यसको महत्व उजागार गर्दै अगाडि बढ्ने बताउनुभयो ।


त्यस्तै विशेष सल्लाहकार रामु भण्डारीले बोलबमधामको विकासका लागि पछिल्लोपटक १० कठ्ठा जग्गा थप गरी विकास र प्रचारमा लागेको बताउनुभयो । पर्यटन वर्षमा आउने पर्यटक स्वागतका लागि जुटेको उहाँले बताउनुभयो । धामका पुजारी उमाकान्त चालिसे शिवभक्तहरु बढी आउने यस स्थानमा सोमबार र शनिबार बढी भिड हुने बताउँनुहुन्छ ।पण्डितहरुका अनुसार विश्वमा कुल १०८ ज्योतिर्लिङ्गमध्ये ६४ वटा नेपालमा, १२ भारतमा र अन्य उत्खनन् गर्न बाँकी छ । यो ज्योतिर्लिङ्ग बुद्धकाल अघिको प्राचीन भएको मानिन्छ ।


 

अन्य समाचारहरु