बैतडी, कार्तिक २६ – माओवादी सेनाका एक लडाकुले व्यक्तिगत रिसइबीमा भूमिराज-५ का डम्बर साउदको सोमबार राति हत्या गरेको स्वीकारेका छन् । कैलालीस्थित सातौं डिभिजनअन्तर्गतका कम्पनी कमान्डर दलबहादुर साउदले आफ्नो समूहको कुटाइबाट डम्बरको मृत्यु भएको प्रहरीसँग स्वीकारेका हुन् ।
भूमिराज गाउँकै बासिन्दा दलबहादुर तिहार बिदामा आएका बखत उनीहरूबीच कुटपिट भएको थियो । प्रहरीले कमान्डर दलबहादुरसहित आठ जनालाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरीका नायब उपरीक्षक सुकदेव न्यौपानेले बताए ।
टाउकोमा धारिलो हतियारको चोट लागेका डम्बरको शव स्थानीय सुइलेक खोलामा मंगलबार भेटिएको थियो । अभियुक्तहरूले कुटपिटका क्रममा मरेको स्वीकार गरे पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



