– सीता भण्डारी
कात्तिक २८ गुल्मी – केही समयदेखि विभिन्न स्थानमा भएका चोरी काण्डमा संलग्न रहेका एक युवकलाईे गुल्मी जिल्ला प्रहरीले हिरासतमा राखेको छ ।
जुन ठाँउ पुग्यो त्यही घर बताउने र कहिले आफुलाई सेनाको जवान तथा कहिले प्रहरी भन्दै ठगी र चोरी गदै आएका गुल्मी आँपचोर गाविस वडा नं। ४ निवासी २३ वर्षिय महेन्द्र सुनारलाई हिजो जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा लिइएको हो ।
महेन्द्र सुनारले २०६६ साउन ४ गते रुरु गाविस ६ निवासी चन्द्र वहादुर रजालीको होटलबाट ९ हजार ५ सय २० रुपीया चोरी गरेवाफत जिल्ला कारागार गुल्मीमा एक वर्ष कैद सजाय पुरा गरी यहि भदौ महिनामा थुना मुक्त भएका थिए । थुना मुक्त भएलगत्तै बलिथुमको एक घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी बताउदैे उक्त घरको कुखुरा काट्न लगाई मासु घीउ भात खाना सहित लत्ताकपडा समेत लिएर भागेको प्रहरीले जनाएको छ । त्यसको लगत्तै तम्घासको एक होटलमा सैनिक जवान बताउदै उधारो खाना खानुको साथै अर्को कोठामा सुतिरहेको मान्छे ट्वाईलेट गएको मैका पारेर नगद १६ हजार समेत चोरेर भागेको समेत मौखिक उजुरी आएको प्रहरीले जनाएको छ ।
शुक्रबार मरभुङ सिमलटारीमा रहेको जनसेवा होटलबाट बाकस फोरी करिव १४ हजार नगद र एक थान तिलरी समेत चोरी गरी भागेको अवस्थामा उनलाई स्थानीय युवाले पक्राउ गरि प्रहरीमा बुझाएका थिए ।