काठमाडौ। विद्यार्थी ख्याति श्रेष्ठको हत्या र अपहरणमा संलग्न मुख्य अभियुक्त वीरेन श्रेष्ठलाई शुक्रबार काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजायँ तोकेको छ ।
न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले अभियुक्त श्रेष्ठलाई हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद र अपहरणमा १९ वर्ष कैद तथा रु दुई लाख जरिवाना तोकेको हो ।
यसैगरी सोही मुद्दामा संलग्न रहेकी मेरिना शाक्यलाई हत्याको अभियोगमा जन्मकैद र अपहरणको अभियोगमा १४ वर्ष कैदसहित रु दुई लाख जरिवाना तोकिएको छ ।
सो इजलासले पीडकद्वयबाट जनही रु पाँच लाख र पीडित पक्षलाई क्षतिपूर्तिबापत जनही रु ५० हजार उपलब्ध गराउन आदेश दिएको छ ।
राजधानीको पुतलीसडकबाट गत २०६६ जेठ २२ गते अपहृत श्रेष्ठको शवको टुक्रा काठमाडौँ, ललितपुर र चितवनमा फेला परेको थियो । काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम अभियुक्तद्वय पुर्पक्षका लागि थुनामा रहेका थिए ।