इटहरी – पुर्वपश्चिम राजमार्गको सुनसरी इटहरी पचरुखीमा खण्डमा शनिबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीका अनुसार ९ जना गम्भीर घाइते भएकाछन् ।
उदयपुर बेल्टारबाट धरानतर्फ गइरहेको को.१ ख.१७०३ को यात्रुवाहक बस पैदल यात्रीलाई जोगाउन खोज्दा इटहरी-५ मा अनियन्त्रीत भई पल्टिएको थियो । बसका सहचालक धनकुटा मुगा-७ घर भई हाल धरान डेरा गरी बस्ने गोपाल तामाङको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुने एक साईकलयात्री र मकै बेच्नेको सनाखत भएको छैन् ।
दुर्घटनामा धरानकी मुना राईको अवस्था गंभीर भएकाले उपचारका लागि भारतको सिलगुढी लगिएकोछ । बसका कन्डक्टर पदम ढकाल धरानकी इन्दु राई, उदयपुर बसहा-६ का बिष्णुमाया तामाङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोछ ।
त्यस्तै यात्रुहरु निर्मला तामाङ, अजय बिक, प्रर्मीला अधिकारी, डब्बर राई, मन्जल खान मियाँलगायतको धरान र इटहरीमा उपचार भइरहेकोछ । दुर्घटनामा दुई दर्जनभन्दा बढी सामान्य घाइते भएको प्रहरीले बताएको छ ।



