मलेसियामा फरक घटनामा दुई नेपालीको मृत्यु

युवराज बराल/क्वालालम्पुर, मलेसिया

 

शाहआलम/मलेसिया । यही नोभेम्बर २१ तारिखका दिन फडिन्द्र पुलामी मगरको सुतेको सुतै अवस्थामा मृत्यु भएको छ भने गत नोभेम्बर २१ तारिखका दिन टेस्को मार्केटबाट सामान किनेर होष्टल फर्किने क्रममा बाटो क्रस गर्दा रामराज थारु धोबीको मृत्यु भएको छ ।


आजभन्दा ३ महिना अगाडि काठमाडौं धुम्बारहीस्थित एट्लस ओभरसिज ईम्प्लोइमेन्ट प्राईभेट लिमिटेडमार्फत मलेसियाको शाहआलम सेक्सन २६ हाईकम बारुस्थित पि.एच.एन. ईन्डष्ट्रीज एसडिएन/बिएचडीमा आएका मगरलाई उक्त दिन बिहान साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा फेला पारेका हुन् ।


सो दिन बेलुका साथीहरुसँगै खाना खाई राती अबेरसम्म टि.भी. हेरी सकुशल सुतेका मगर बिहान साथीहरुले झक्झक्याउँदा नउठेपछि तुरुन्तै कम्पनी मालिकलाई जानकारी गराएका थिए । मृतक मगर कन्ट्रयाक भिषामा काम गर्दै आइरहेको कुरा निजका सहकर्मी साथीहरुले बताए ।


२० बर्षीय अविवाहित मगरको परिवारमा बुबा, आमा, एक भाइ र बुहारी, तीन दिदी रहेका छन् । जिल्ला मोरङ गाविस याङसिला- ९ स्थायी घर भएका मृतक मगरको शवलाई गत मंगलबार बेलुका नै बंगलादेश हुँदै नेपाल पठाइसकिएको छ ।

कारको ठक्करबाट एक नेपालीको मृत्यु


जोहर/मलेसिया । गत नोभेम्बर २१ तारिखका दिन टेस्को मार्केटबाट सामान किनेर होष्टल फर्किने क्रममा बाटो क्रस गर्दा रामराज थारु धोबीको मृत्यु भएको छ ।


उक्त दिन बेलुका ६ बजेतिर किनमेल गरी फर्किने क्रममा विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो । मृतक रामराज थारु धोबी गत अक्टोवर १० तारिख जोहरबारु कोताकुलाइस्थित कि.फ्यट इन्डष्ट्रीज एसडिएन/बिएचडीमा आएका हुन् ।


सो दिन आइतबार परेका कारण छुट्टी भएको हुनाले बेलुका ६.३० बजे किनमेल गरी फर्किदा दुर्घटना भएको हो । पर्सा जिल्ला निचुटा घर भई एक महिना अगाडि उक्त कम्पनीमा आइपुगेका २२ बर्षीय मृतक धोवीको शव हाल जोहरको कुलाइस्थित हस्पिटलमा राखिएको छ ।

 
शव कहिले नेपाल पठाउने भन्ने बारेमा कम्पनीले केही जानकारी भने गराएको छैन । मृतक धोवी काठमाडौं महाराजागञ्जस्थित एस.भि. एसोसिएट्स प्रालि.मार्फत मलेसिया आएका हुन् । मृतक आएको धेरै समय नभएको र उनको घरको आर्थिक अवस्थासमेत कमजोर रहेकाले निजको परिवारलाई सहयोग गरिदिनुहुन सबै संघसंस्था एवं दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गरिएको छ।