काठमाडौ – गएराती धनकुटाको बोधेमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने महोत्तरीको पश्चिमवर्ती गौशालाबजारको निगौलचोकमा आफंैले चलाएको साइकलबाट लडेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
बोधे १ हमेला मौनाबुधुन कच्चीसडक खण्डमा दुर्घटना भएको हो । मौनाबुधुक तर्फ गईरहेको को १ ज १२३३ नम्बरको पिकअप भ्यानले बोधे १ का २५ वर्षीय पैदलयात्री देवकुमार गिरीलाई ठक्कर दिएको थियो ।
गिरीको घटनास्थलमानै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गिरीलाई ठक्कर दिई भ्यान २० मीटर तल खस्दा पीकअपका सहचालक पाख्रीबास ३ बस्ने राजन खड्का गम्भिर घाइते हुनुभएको छ । घाइते खड्कालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र चालक ईलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको पश्चिमवर्ती गौशालाबजारको निगौलचोकमा आफैले चलाएको साइकलबाट लडेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
गौशालालगायत आसपासका गाउँबस्तीमा सनपापडी बिक्री गर्न आइरहने सीमावर्ती भारतीय बस्ती खैरवा-८ का ५५ वर्षीय फेकन पासवानको साइकलबाट लडेर हिजो मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच रोल्पाबाट रेडियो जलजलाले जनाएअनुसार रोल्पाको जुगारबाट लिबाङतिर आउँदै गरेको ट्याक्सी कोटगाउँको दार्बोट नजिक दुर्घटना हुँदा १३ जना घाइते भएको छन् ।
गाडीमा सवार १५ जनामध्ये १३ जना सामान्य घाइते भएका हुन् । जलजला यातायात व्यवसायी समितिको लु १ ज १३६९ नम्बरको गाडी सोमबार दिउँसो दुर्घटना भएको हो ।
घाइतेहरुलाई दार्बोटका स्थानीयबासी र स्थानीय स्वास्थ्यकर्मीहरुको सहयोगमा घटनास्थलमै उपचार गरी थप उपचारको लागि सदरमुकाम लिबाङ ल्याइएको छ ।
त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको पितौजीमा आज भएको सवारी दुर्घटनामा १ जना महिलाको मृत्यु भएको छ भने एक बालक घाईते भएका छन् ।
ईलाम भ्रमण सकेर पश्चिमतर्फ फर्कदै गरेको बा २ ख ७२१६ नम्बरको माईक्रोबसको ठक्करबाट स्थानियबासिन्दा परामी सारुको मृत्यु भएको छ भने उहाँको ७ वर्षका छोरा हीरा सारु घाईते भएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भएपछि स्थानियबासीले अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पितौजीमा सवारी आवागमन ठप्प पारेका छन् । ठक्कर दिने माइक्रोबसका चालक फरार रहेको र घाईते छोराको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । माईक्रोबस भने आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।