मुगु — मरेको बाख्रा खाँदा झाडापखाला भएर मुगुको पुलुमा ५ जनाको मृत्यु भएको छ । तीन जना बिरामी छन् ।
मृत्यु हुनेमा पुलु-४ का २७ वर्षीय रिक्साट लामा, २६ वर्षीय छेवाङ लुटुक लामा, २८ वर्षीय लाइक्याप छिरिङ लामा, पुलु-५ सेरोग गाउँका ३१ वर्षीय तेन्जिङ सोनाम लामा र पुलु-६ का ३३ वर्षीय छिरिङ पाल्गर लामा छन् ।
पुलु-५ का छिरिङ लामा र ६ का तल्ला लामासहित ३ जना बिरामी रहेको प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताए । निमित्त स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले मंसिर १८ गते लाइक्याप छिरिङ लामाको मरेको बाख्राको मासु खाँदा उनीहरूको ज्यान गएको जानकारी दिए ।
टाढा र सञ्चार असुविधाका कारण घटनाबारे सोमबार मात्रै जानकारी पाएको सिंहले बताए । उक्त गाउँ पुग्न सदरमुकामबाट २ दिन पैदल हिँड्नुपर्छ । घटनाबारे अध्ययन गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ गएका छन् ।
जिल्ला अस्पताल ठिनीबाट औषधिसहित ३ स्वास्थ्यकर्मी औषधि लिएर पठाइइएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । निमित्त स्वास्थ्य प्रमुख सिंहले गाउँबाट उपस्वाथ्य चौकी पुग्न तीन घन्टा लाग्ने र अन्य बिरामीको त्यहीं उपचार भइरहेको बताए ।



