इटहरी – सुनसरीको अलग-अलग स्थानमा आगलागी हुदाँ ३० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। शनिबार मध्यराति मधेली-३ का मानबहादुर चौधरी, चन्द्रनारायण चौधरी, सम्वरी चौधरी र भजनलाल चौधरीको पाँचवटा घर र ८ वटा ग्वाली जल्दा २५ लाख बराबरको धनमाल जलेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
राति खाना पकाएर त्यसै छाडेको आगोले सल्किएर आगलागी हुदाँ आठ वटा गोरु, नौ वटा गाई, एउटा सुगुर, १० वटा वाख्रा र पाँचवटा खसी मरेको प्रहरीले जानकारी दिइयो। आगलागीलाई धरान र इटहरीबाट गएको बारुणयन्त्रले दुई घण्टामा नियन्त्रणमा लिएको थियो।
यसैगरी, आइतबार दिउँसो पश्चिम कुसाहा-३ का अलाउँदिन मियाँ, किफायत मनसुरी, मजबुल अनसारी र सजात अनसारीको फुसको घर जल्दा पाँच लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन्।
यस्तै, गौतमपुर-२ का खलील मनसुरीको घर र ग्वालीमा आगलागी हुदाँ १ सय मन धान र घर जलेको छ। केटाकेटीले खेल्ने क्रममा सल्किएको आगोले सलीलसँगै रहमुदिन मियाँको घर पनि जलेको प्रहरीले जनाएको छ।