अब काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन

– विज्ञान अधिकारी, नागरिक

 

काठमाडौं – यातायात व्यवसायीले माघ १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएका छन्। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार माघदेखि महानगरमा राति ११ बजेसम्म रात्रिकालीन बस चल्ने छन्। विभागका अनुसार रत्नपार्क-कंलकी, रत्नपार्क-जावलाखेल, रत्नपार्क-महाराजगञ्ज, रत्नपार्क-कोटेश्वरलगायत रुटमा रात्रिबस चल्नेछन्।

 

‘व्यस्त रुटमा रात्रिबस चलाइनेछ,’ विभागका निर्देशक अनिल गुरुङले शनिबार नागरिकसँग भने, ‘माघदेखि सञ्चालनमा ल्याउन सबै तयारी भइसकेको छ।’

उनले राति सार्वजनिक यातायात सञ्चालन गर्दा आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि श्रम तथा यातायात मन्त्रालयमार्फत गृहलाई पत्र पठाउने जानकारी दिए।


‘व्यवसायी यातायात चलाउन तयार भइसकेका छन्, उनीहरूले सुरक्षालाई प्रमुख विषय बनाएकाले हामीले गृहलाई आग्रह गर्न लागेका हौं,’ उनले भने। उनका अनुसार पहिलो चरणमा १५ वटा सार्वजनिक सवारी साधन सञ्चालनमा आउनेछन्। पहिलो चरण सफल भए अर्को चरणमा सवारी साधन थपिनेछन्।


अहिले सार्वजनिक यातायात ८ बजेसम्ममात्र चल्छन्। ८ बजेपछि यात्रुले महँगोमा ट्याक्सी लिनैपर्छ। बढ्दो सहरीकरणसँगै ८ बजेसम्म रात्रिकालीन बजार खुले पनि सार्वजनिक यातायात नहुँदा समस्या हुन्छ। ट्याक्सीमा चढ्न नसक्नेहरूले आठ बजेपछि पैदल हिँड्नुको विकल्प छैन।


यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षा व्यवस्था हुनेबित्तिकै यातायात साधन सञ्चालनमा आउने जानकारी दिएको छ।


‘रात्रि सार्वजनिक यातायात सञ्चालन गर्न तयार छौं। विभागले माघदेखि सुरक्षा व्यवस्था दिने प्रतिवद्धता गरेको छ,’ महासंघका महासचिव डोलनाथ खनालले भने, ‘सुरक्षा भएमा यातायात सञ्चालन गर्न कुनै समस्या छैन।’


उनका अनुसार राति चल्ने बसमा भाडा केही महँगो तिर्नुपर्नेछ।

अन्य समाचारहरु