शिवलाल सुवेदी
गुल्मी,११ पुस -मोटरबाटो खन्ने क्रममा जग्गाधनी र उपभोक्ता समितिबीच विवाद भएपछि जग्गाधनीलाई स्थानीय महिलाहरु लगाएर नियन्त्रणमा लिई डोजर संचालन गरिएको छ ।
गुल्मीको बडागाउँ गाविस वडा नं. ७ थुम्काको करमबोटमा निस्ती थुम्का हुँदै मैदानसम्म मोटरबाटो खन्दै गर्दा आफ्नो खेतबाट बिनासहमति डोजर चलाएकोमा विरोध गर्न पुगेकी सोही गाविस ठूलाचौर निवासी कोपिला रिजाललाई मोटरबाटो समितिले स्थानीय महिलाहरु लगाएर नियन्त्रणमा लिई डोजर संचालन गरेको हो ।
उक्त मोटरबाटो समितिका अध्यक्ष लेखनाथ भट्टराइ,कोषाध्यक्ष पशुपति परियार र स्थानीय गोमा भट्टराइ,सीता भट्टराइ,तारा परियारलगायतका महिलालाई लगाएर गाली बेइज्जती गर्दै आफूलाई लछारपछार गरेर आफ्नै पटुकाले बाँधेर नियन्त्रणमा लिई जबरजस्ती आफ्नो खेतमा डोजर लगाएको पीडित कोपिलाले गुनासो गरेकी छिन् ।
समितिका अध्यक्ष लेखनाथ र आरोपित महिलाहरुले भने कोपिला चलिरहेको डोजर रोक्न नजिकै गएकोले कुनै अप्रिय घटना नघटोस् भन्नका लागि आफूहरुले उनलाई समातेर राखेको बताएका छन् ।
पीडितले भने श्रीमान् तथा आफ्ना अभिभावक कोही पनि घरमा नभएकोले उनीसँग सहमति नलिएसम्म डोजर रोकिदिन आग्रह गर्दा समितिका व्यक्तिहरुले महिलाहरुलाई बोलाई बाँधेर डोजर चलाउ,कसैले डोजर रोकेर रोकिंदैन भनेकाले महिलाहरु उत्तेजित भई आफूमाथि आक्रमण गरेको बताएकी छिन् । उनीहरुले आफूलाई करिब डेढ घण्टा नियन्त्रणमा लिइरहेको बेला स्थानीय शंकर मरासिनी र क्षेत्रबहादुर जि.सी. उक्त स्थानमा पुगेर यसरी कसैलाई बाँधेर डोजर चलाउनु अन्याय हो भनेपछि मात्र कोपिलालाई छाडिदिएका थिए ।
एकीकृत नेकपा माओवादीका स्थानीय नेता गोमबहादुर सुनार, नेपाली कांग्रेसका बसन्त रिजाल र एमालेका बालकृष्ण रिजालले घटनाको निन्दा गर्दै उपभोक्ता समितिले एक्ली महिलामाथि हातपात गरेर अन्याय गरेको भन्दै पीडितलाई क्षतिपुर्ती र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
स्थानीय मंगल सुनारका अनुसार सो बाटो पीडित महिलाको खेतबाट खन्नुको साटो केही पर रहेको पीपलको बोटबाट खनेको भए त्यसरी उनको खेतमा क्षति नहुने र थुम्काको करमबोटस्थित दलित बस्तीसमेत समेटिने थियो । यतिबेला उक्त दलित बस्तीलाई छाडेर रिजाल बस्तीतर्फमोटरबाटो लैजान लागेको भन्दै ती दलितहरुले समेत उक्त मोटरबाटो समितिको विरोध गरेका छन् ।
समितिका उपाध्यक्ष रहेका उक्त दलित बस्तीका भीमबहादुर परियारले आफूले जति आग्रह गर्दा पनि अन्य सदस्यहरुले दलित बस्तीतर्फबाटो लैजान नमानेको बताएका छन् । दलित बस्तीका महिलाहरुले समेत बाटो समितिले मनपरी ढंगले बाटो अन्यत्र मोडेको र दलित बस्तीलाई ओझेलमा पारेको भन्दै पुनः उपभोक्ता भेला नराखेसम्म मोटरबाटो खन्न नहुने बताएका छन् ।
यता, पीडित कोपिलाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा अन्यायका विरुद्ध उजुरी दिएकी छिन् । प्रहरीले उपभोक्ता समितिलाई बोलाई दुबै पक्षबीच छलफल गर्राई सहमतिमा ल्याउने र अन्याय परेकालाई क्षर्तिपर्ूर्तिको व्यवस्था मिलाइदिने बताएको छ । उजुरी आएपछि अहिले उक्त विवादित मोटरबाटोमा डोजर बन्द गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले जानकारी दिएका छन् ।



