प्युठान – प्राप्त समाचार अनुसार दुई अलग ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थी सहित २ जनाको मृत्यु भएको छ। भालुवाङ-प्युठान सडकखण्डको बाङ्गेशाल-६ मा ट्र्याक्टर दुर्घटनामा हुँदा १९ वर्षीय विद्यार्थी भरत सुनारको ज्यान गएको छ भने सिन्धुलीको लाम्पन्टारमा अर्को ट्र्याक्टर दुर्घटना हुँदा १० बालक नारायण अछामेको मृत्यु भएको छ।
प्युठान हंसपुर-८ बस्ने सुनारको लु२त ७७ नं को ट्र्याक्टरमा घर फर्कंदै गर्दा भुल्के भन्ने ठाउँमा ओर्लने बेला ट्र्याक्टर ड्राइभरले नरोकिदिएपछि आफैँ झर्न खोज्दा अल्झेर भुइँमा खस्दा ट्र्याक्टरले किचेर मृत्यु भएको स्थानीय शिक्षक गङ्गाबहादुर केसीले जानकारी दिए।
सरस्वती मावि कक्षा ९ मा अध्ययनरत सुनारलाई देउखुरी लाइफ केयर हस्पिटल भालुवाङमा उपचार गराउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाको विरोधमा मंगलबार भालुवाङ-प्युठान सडकखण्ड स्थानीयले अवरुद्ध पारेका छन्। यसबाट भालुवाङबाट प्युठान र रोल्पा आउने छोटो तथा लामो दूरीका यातायातका सवारीसाधन बीचमै रोकिएका छन्।
उता मङ्गलबार दिउँसो ना२त ६२१५ नंको ट्र्याक्टर दुर्घटनामा परी सिन्धुलीमा घाइते भएका बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।