जर्मनी – जर्मनीको पश्चिमी राज्य नर्थ राइन वेस्ट फलियामा अवस्थित स्पेलेन गाउँमा स्थापित रेस्टुरेन्ट नमस्तेमा जनवरी ५ तारिख का दिन नेपाल पर्यटन बर्ष २०११ को प्रचार /प्रसार एवं प्रवर्धन भब्य समारोहका बीच सम्पन्न गरियो l
नेपाली मानार्थ बाणिज्यदुत रामप्रताप थापा, जर्मन व्यबस्थापिका सभाका सदस्य, स्थानीय क्षेत्रका नगर प्रमुखहरु, सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, प्राध्यापक, चिकित्सक,ब्यापारी, पर्यटन-उद्द्यमी,पत्रकार लगायत नेपालप्रति चाख राख्ने जर्मन नागरिकहरुको उपस्थिति रहेको उक्त समारोहमा नेपाल, नेपाली संस्कृति, प्राकृतिक एवं सांस्कृतिक धरोहरहरु, हिमाल-पहाड र तराइका आकर्षक पर्यटन गन्तब्य स्थलहरुको बारेमा प्रचार र प्रवर्धन गर्ने वृत्त-चित्रको साथमा प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए l
नमस्ते रेस्टुरेन्टका प्रवन्ध संचालक यज्ञराज सुवेदीले आमन्त्रितहरुलाई स्वागत् गर्दै आफ्नो मातृभूमिको प्रचारार्थ सो कार्यक्रम नितान्त निजि खर्चमा आयोजना गरिएको जानकारी गराए l
नेपाली मानार्थ वाणिज्यदुत रामप्रताप थापाले आफ्नै अग्रसरतामा नेपाल पर्यटन बर्ष २०११ को प्रचारार्थ भब्य समारोहको आयोजना गरेकोमा सुवेदी परिवारलाई धन्यवाद ब्यक्त गर्दै नेपाल सांस्कृतिक, प्राकृतिकका साथै आतिथ्य संस्कारमा पनि धनि भएकोले उपस्थित आमन्त्रितहरुलाईनेपाल भ्रमण गर्ने सुझाव पनि दिए l
गत बर्ष नेपालको हिमाली क्षेत्रमा मोटरसाइकल यात्रामा नेपाल र नेपालीपनको बिशिष्ट अनुभव बटुलेकी बेर्टी काम्प्ले पुर्व देखि पश्चिम सम्म अवस्थित हिमाली क्षेत्रको प्राकृतिक सुन्दरताको वर्णन गर्दै नेपाल जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ भएको बताइन l
अर्का प्रस्तोता मार्कुस वेल्नर हाकुले पछिल्ला एघार पटकको नेपाल भ्रमणमा अनुभव गरेका सामाजिक तथा सांस्कृतिक रहन-सहनलाई शब्द-चित्रमा वर्णन गर्दा उपस्थित आमन्त्रितहरु मन्त्रमुग्ध देखिन्थे l
एस्सेन शहरको युनिभर्सिटिमा अध्ययनरत शुक्रनगर चितवनका दिपेन्द्र सुवेदीले नमस्ते रेस्टुरेन्ट तथा सुवेदी परिवारको अग्रसरतामा संचालित नमस्ते शिक्षा अभियान मार्फत आफ्नै गाउँ शुक्रनगरमा अवस्थित प्रभात उच्च मा. वि. को पुस्तकालय एवं भवन निर्माणमा भएको प्रगति बिवरण प्रस्तुत गर्दै गत बर्ष सम्पन्न बैबाहिक जीवनसंगै शुरु गरिएको दिपेन्द्र-गीता शिक्षा कोषको उद्देश्य र अवधारणा बारे प्रष्ट पारेका थिए l
हरेक प्रस्तुतिको बिचमा ख्यातिप्राप्त कलाकारद्वय सुश्री ममता र मनिषा गौतमले नेपाली संस्कृति झल्काउने परम्परागत नृत्यहरु प्रस्तुत गरेका थिए l नेपाल पर्यटन बोर्ड काठमान्डू बाट प्रेषित पर्यटन प्रचार सामाग्रीको साथमा मन लोभ्याउने नेपालका विभिन्न पर्यटनस्थलहरुका पोष्टरहरु रेस्टुरेन्ट नमस्तेका प्रवन्धक यज्ञराज र सीमा सुवेदी मार्फत सबै आमन्त्रित पाहुनाहरुलाई वितरण गरिएको थियो l औपचारिक समारोहको समापन पछि उपस्थित सम्पूर्ण पाहुनाहरुलाई नमस्ते रेस्टुरेन्टको तर्फबाट आयोजना गरिएको नेपाली भोजन दाल, भात तरकारी र गुन्द्रुकको अचार सहितको रात्रि भोजमा रमाईरहेका देखिन्थे l