अखाँटा प्रतिनिधि-छोरो मरेको खबर सुनेपछि रिठापाटा गाविस- २ जोशी गाउँकी एक वृद्धाको मृत्यु भएको छ । आमाछोरालाई एउटै चिहान बनाएर आइतबार दाहसंस्कार गरिएको छ ।
शनिबार बेलुका छोरो मरेको खबर सुनेपछि बेहोस भएकी ८६ वर्षीया वृद्ध रंगमती जोशीको आइतबार बिहान मृत्यु भएको हो । ५० वर्षीय छोरा कृष्णराज जोशीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको खबर घरमा रहेकी आमाले आफन्तमार्फत सुनेकी थिइन् । खबर सुन्नासाथ बेहोस भएकी र केही समयपछि उनको मृत्यु भएको उनका आफन्त धुर्बराज जोशीले बताए ।
कृष्णराजलाई बिहान रुघाखोकी लागेको र ज्वरोसमेत आएकाले शनिबार दिउँसो उपचारका लागि नजिकै रहेको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए । एक मात्र छोराको अकस्मात् मृत्यु भएको खबरले वृद्धालाई हृदयाघात भएको हुन सक्ने अनुमान आफन्तले लगाएका छन् । केही महिनाअघि आफ्नै घरमा राति सुतिरहेका वेला सर्पले डसेर कृष्णराजकी श्रीमतीको समेत मृत्यु भएको थियो ।



