खाडीको कुवेत पुर्‍याइएर बिचल्ली बनेका अढाई सय नेपाली महिला नेपाली दूतावासको आश्रयस्थलमा

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार नक्कली कागजातका साथ गलत बाटोबाट खाडीको कुवेत पुर्‍याइएर बिचल्ली बनेका अढाई सय नेपाली महिला अहिले त्यहाँको नेपाली दूतावासको आश्रयस्थलमा छन् ।

‘दुई सयजति दूतावासको शरणमा छन्, बाँकी आसपासका चर्च र आश्रय केन्द्रमा छन्,’ कुवेतस्थित नियोगका राजदूत मधुवन पौडेलले भने, ‘यत्रो ठूलो संख्यामा आश्रित भीडका कारण सुरक्षास्थिति मिलाउन पनि हम्मे परिरहेको छ ।’

उनीहरूको खानपिन, औषधोपचारसहितमा दैनिक २० हजार रुपैयाँ जति खर्च भइरहेको र उनीहरूमध्ये अधिकांश गैरकानुनी रहेको उनले बताए । यही जनवरीदेखि खाडीमा घरेलु कामदार पठाउन आवश्यक कार्यविधि र सेवार्सतको कडाइ भएकाले बिचल्ली पर्नेको संख्यामा केही कमी आएको समेत उनले बताए ।