हुम्ला – प्राप्त समाचार अनुसार प्युठान जिल्लाको ढुङ्गेगढी ८ घर भइ राष्ट्रिय अनुसन्धान कार्यालय हुम्लामा कार्यरत ३२ वर्षका मोहन थापाको लेक लागेर मृत्यु भएको ५ दिन बितिसक्दा पनि चिकित्सकको अभावमा पोष्टमार्टम हुन सकेको छैन ।
जिल्लामा २ जना चिकित्सकको दरबन्दी भए पनि दुबै चिकित्सक नभएका कारण पोष्टमार्टममा समस्या भएको हो ।
गृहमन्त्रालयको कर्मचारी भएकोले थापाको शवलाई हेलिकप्टर मार्फत प्युठान पुर्याउने बताइए पनि आजसम्म खराब मौसमको कारण देखउँदै हेलिकप्टर नपठाइएको बताइएको छ ।
थापाका आफन्त समेत हुम्ला पुग्न सकेका छैनन् । चिकित्सकको लापरवाहीका कारण थापाको शव अलपत्र परेको भन्दै बिभिन्न निजामती कर्मचारी संगठनहरुले बिज्ञप्ती प्रकाशित गरेर आजबाट आन्दोलन गर्ने बताएका छन् ।