साउदीमा मृत्यु भएका नेपाली कामदारहरुको वीमाको लाखौं रुपैयाँ दुरुपयोग गर्ने राजदुत अन्सारीलाई अन्तत: फिर्ता वोलाइयो

साउदीमा कार्यरत मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोगको अभियोगमा छानबिनमा परेका साउदी अरेबियाका लागि राजदूत हमिद अन्सारीलाई अन्तत फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो । तर रियादमा रिक्त रहेको राजदूत पदमा पठाइने व्यक्तिबारे भने मन्त्रिपरिषदमा कुनै छलफल भएन ।
 
अन्सारीले सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापतको १ लाख रियाल (२० लाख रुपैयाँ), त्यस्तै अर्का मृतक होमबहादुरको क्षतिपूर्तिबापतको ४७ हजार रियाल अर्थात् नौ लाख ४० हजार नेपाली रुपैयाँको दुतावासले बुझेको तर आफूहरूले हालसम्म नपाएको उनका आफन्तले उजुरी दिएका थिए। मृतक होम बहादुर बाग्लुङ, हुङदिसिर-३ निवासी हुन् । अरु पनि थुप्रै यस्ता घटनाहरु र्सार्वजनिक हुने क्रम जारी छ । यही प्रकरणमा अन्सारीले जिम्मेवार ठहराएका रियादस्थित नियोगका तत्कालीन प्रथम सचिव खड्गप्रसाद दाहालमाथि पनि परराष्ट्र मन्त्रालयले सोधपुछ गर्ने भएको छ ।


यी त केही एउटा उदाहरण मात्रै भए किनकि साउदी अरबमा मर्नेहरुको संख्या धेरै छन्, कतिपयका परिवारलाई यो पनि थाहा छैन उसको मानिस मर्दा कम्पनिले वीमा रकम उपलव्ध गराउँछ । यस्ता लाखौं रुपैयाँ राजदुत अन्सारीले खाएका छन् । यसमा उनी मात्र किन राजनैतिक नेताहरु पनि पक्कै समाबेश भएका होलान् तिनीहरुको चाँहि पर्दाफास हुन बाँकी नै छ ।


अन्सारीलाई नेपाल फिर्ता वोलाइनु सकारात्मक पहल हो, तर उनलाई के कारवाही होला त्यो भने नेपालको राजनीतिलाई हेर्दा शंका गर्ने प्रशस्तै ठाउँहरु छन् । उनलाई कारवाही होला नहोला तर मृतकका परिवारले पाउनुपर्ने वीमा रकम भने तत्कालै सरकारले व्यवस्था गरिदिनु पर्छ । राजदुत जस्तो गरिमामय पदको दुरुपयोग गर्ने यस्ता व्यक्तिहरुलाई कडा कारवाही हुनुपर्छ । लामो समयसम्म मृतकको परिवारले नपाएको क्षतिपूर्तिको रकम हर्जाना समेत सम्बन्धित परिवारसम्म छिटोभन्दा छिटो पुर्‍याउनु पर्दछ तवमात्र देशमा सरकार छ भन्ने अनुभव जनताले गर्नेछन् ।