-अमृत पाण्डे
धरान – सुनसरी जिल्लाको धरान नगरपालिकाद्वारा आफ्नो स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा आयोजित चार दिने स्वर्ण महोत्सव सोमबार सम्पन्न भएको छ ।
माघ १४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले उद्घाटन गर्नुभएको महोत्सव माघ १७ सम्म चलेको थियो । नगरलाई आकर्षक ढंगबाट सजाइएको महोत्सवको उद्घाटनको अवसरमा स्थानीय जातिहरुका भेषभूषा र संस्कृति झल्किने झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । महोत्सवमा कला साहित्य संस्कृति शैक्षिक खेलकुंद सडक उत्सव विज्ञान प्रदर्शनी हस्तकलाप्रदर्शनी लगायतका विविध कार्यक्रमहरु गरिएको थियो । उत्सवकै अवसरमा भेडेटारदेखि धरानसम्म प्याराग्लाइडिङ र माउन्टेन बाईकको समेत शुरुवात गरिएको थियो ।
महोत्सवमा सहभागी व्यवसायीहरुका अनुसार करिब ५ लाख दर्शकले भाग लिएको महोत्सवबाट करिब ६० लाख बराबरको कारोबार भएको थियो । महोत्सव धरान आसपासका क्षँेत्रमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुका साथै पर्यटकीय पूर्वाधार विकासमा समेत सफल रहेको र पर्यटन वर्षमा धरान आउने पर्यटकहरुलाई तीन दिनसम्म राख्न सकिने पनि धरान नगरपालिकाले दावी गरेको छ ।