पर्वत – पर्वतबाट प्राप्त समाचार अनुसार मुस्ताङमा अत्यधिक हिमपातसंगै बढेको चिसोले एकजनाको मृत्यु भएको छ । बुधवार दिउँसो चिसोकारण कुञ्जो गाविसका ५५ बर्षीय भिमप्रसाद गौतमको मृत्यु भएको हो ।
घट्नास्थल सदरमुकाम जोमसोमबाट २७ किलोमिटरको टाढा रहेकाले घट्नाका बारेमा विहीवार मात्र थाहा पाएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार गौतम घर नजिकै मृत अबस्थामा फेला परेका हुन् ।
घट्नास्थल पुगेको प्रहरी टोलीले लेते प्राथमिक स्वाथ्यकेन्द्र पोष्टमार्टम गरी परिवारलाई शब बुझाएको छ । मंगलवारदेखि मुस्ताङमा परेको हिमपातले जिल्लाको जनजीवन प्रभावित बनेको हो । विहीवार जिल्लाको मौसमी तापक्रम माइनस ९ डिग्री सेल्सियस रह्यो । अबरुद्ध मोवाईल फोन विहीवार दिउँसोबाट सुचारु भएपनि स्काई फोन सुचारु हुन सकेको छैन । मौसममा केही सुधार आएपछि विहीवार जोमसोम विमानस्थलमा चार उडान भएका छन् ।



