पेरिसमा नेपाल पर्यटन वर्ष २०११ सम्बन्धी कार्यक्रम

नेपाल पर्यटन वर्ष २०११ का बारेमा फ्रेन्च नागरिकहरुलाई जानकारी दिने उद्देश्यले पेरिसस्थित नेपाली राजदूतावासले पेरिसको आइफल टावर नजिक रहेको Place Joffree  भन्ने स्थानमा एक कार्यक्रमको आयोजना गरेको छ ।


सो कार्यक्रममा एभरेष्ट नेपाल एशोसिएसन, मेजो कल्चुरेल नेपाल, एनआरएन फ्रान्स, पाकोफान, तमू समाजका अध्यक्ष लगायत अन्य सदस्यहरु तथा विभिन्न व्यक्तिहरु आआफ्नो वेषभूषामा उपस्थित भएका थिए ।


सो अवसरमा फ्रान्सका लागि नेपाली राजदूत महामहिम श्री मोहनकृष्ण श्रेष्ठले नेपाल पर्यटन वर्ष २०११ को व्यानर खोल्दै छोटो मन्तव्य दिने क्रममा नेपाल सरकारले यस वर्षलाई नेपाल पर्यटन वर्षको रुपमा घोषणा गरी १० लाख अन्रर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने लक्ष्य राखेकोले सबैले फ्रान्समा यसबारेका प्रचार प्रसार गर्न तथा आआफ्ना मित्रहरुलाई नेपालको भ्रमणमा जान अनुरोध गर्नका लागि अपिल पनि गर्नु भयो ।


राष्ट्रिय झण्डा तथा नेपालका हिमाल पहाड, मठमन्दिर, प्राकृतिक दृष्यहरु आदि झल्काउने विभिन्न पोष्टरहरुले गर्दा निकै रमाइलो वातावरण पैदा भएको र विभिन्न फ्रेन्च नागरिकहरुले रमाइलो मानी सोधपुछ गरेका थिए । सो अवसरमा नेपाल सम्बन्धी विभिन्न पोष्टर, पम्प्लेट तथा सिडीहरु समेत आगन्तुक फ्रेन्चहरुलाई वितरण गरिएको थियो ।