जग्गेबाटै बेहुला पक्राउ

फागुन, झापा  दोस्रो विवाह गर्न जुटेका एक व्यक्ति विवाह जग्गेबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम चुहानडाँडाका ३० वषर्ीय कृष्णप्रसाद उप्रेती छन् ।


उप्रेतीलाई शनिश्चरे प्रहरीले झापा शनिश्चरेको प्रणामी मन्दिरबाट पक्राउ गरेको हो । इलाम लक्ष्मीपुर- ८ की २७ वषर्ीया गीता अधिकारीसँगै स्वयम्बर गर्न लाग्दा उनी पक्राउ परेको शनिश्चरे प्रहरीले जनाएको छ ।


गत जेठमा झापा गरामनी-१ की तुलसा उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएका उनी केटीपक्षलाई ठगी दोस्रो विवाह गर्ने तयारीमा थिए । प्रणामी मन्दिरमा गीता र उनको बीच स्वयम्वर हुँदै गर्दा तुलसाले प्रहरीको सहयोगमा विवाह रोकेकी छिन् ।


तुलसाले दोस्रो विवाह गर्न लागेको किटानी जाहेरी दिएपछि प्रहरी मन्दिरमा पुगेको थियो । शनिबार पक्राउ परेका उप्रेतीउपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो ।


उनलाई बहुविवाह ऐनअन्तर्गत कारबाही सुरु गरिएको प्रहरीको भनाइ छ । रासस

अन्य समाचारहरु