वीरगन्जको गण्डकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सवार दुईजना विद्यार्थीको मृत्यु, एक गम्भीर घाइते

पर्सान । प्राप्त समाचार  अनुसार  वीरगन्जको गण्डकमा मंगलवार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजना विद्यार्थीको मृत्यु हुनुका साथै अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।


मृत्यु हुनेमा सप्तरीको जगतपुर निवासी अमर चौधरी र बाराको छातापिपरा निवासी जीतेन्द्र चौधरी रहेका छन् भने गम्भीर घाइते हुनेमा वीरगन्ज उपमहानगरपालिका वडा नं १४ निवासी सन्दिप ठाकुर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जीतपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना३ख ३४१४ नंको ट्रकले वीरगन्जबाट जीतपुरतर्फ जाँदै गरेको ना१४प ४२२५ नंको मोटरसाइकललाई गण्डक चोकनजिकै रहेको डिपिएस विद्यालयको गेटअगाडि ठक्कर दिएको थियो ।


घाइते ठाकुरलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएकोमा उनको स्वास्थ्यस्थिति बिगि्रँदै गएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।


ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मोटरसाइकलमा सवार तीनैजना विद्यार्थी वीरगन्जको हरिखेता बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत रहेका बताइएको छ ।

अन्य समाचारहरु