काठमाडौ । लिवियामा भएको हिंसात्मक विद्रोहमा अलपत्र परेका नेपालीलाई अविलम्ब उद्धार गर्नुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालयमा एकघण्टा धर्ना दिइएको छ ।
पीडित परिवार र नेपाल मानवअधिकार सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित धर्ना बिहान १० बजेदेखि ११ बजेसम्म मन्त्रालयको ढोकामा गरिएको हो ।
विभिन्न मानवअधिकारवादी सङ्घसंस्था र नागरिक समाजका सदस्यहरूको समेत सहभागिता रहेको सो धर्नामा करिब दुईसयजनाको उपस्थिति रहेको थियो ।
धर्नापछि सङ्गठनका अध्यक्ष सुदीप पाठकको नेतृत्वको एकटोलीले परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलाई सो घटनाको विषयमा ध्यानाकर्षण गराउन एक ज्ञापनपत्र बुझाएको थियो ।
सङ्गठनका अध्यक्ष पाठकले लिवियामा अहिले करिब दुई हजार आठसय नेपालीको ज्यान जोखिममा रहेकाले सरकारले प्रतिनिधि पठाएर कूटनीतिक रूपमा तिनीहरूको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।