काठमाडौ। समाचार अनुसार सरकारले लिबियामा जारी आन्दोलनका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धार थालेको छ ।
आन्दोलनबाट सर्वाधिक प्रभावित भएको दर्नाबाट ५६२ जनालाई इजिप्टको सीमा क्षेत्र ‘वेष्टर्न डेजर्ट’ ल्याइएको छ ।
उद्धार गरिएकालाई खानपान, आवास र सुरक्षाको व्यवस्था गर्न इजिप्ट सरकारका अधिकारीहरूसँग अनुरोध गरिएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनुभयो ।
कायरोस्थित नेपाली दूतावासका प्रथमसचिव तीर्थराज अर्याल उद्धार एवम् समन्वयमा खटेको उल्लेख गर्दै उहाँले दर्नाबाहेक लिबियाका अन्य क्षेत्र शान्त रहेको बताउनुभयो । लिबियामा तीन हजार ६४ जना नेपाली कार्यरत रहेका उक्त मन्त्रालयको अनुमान छ ।