
हिमालयन गाइड्स अन्तराष्ट्रिय पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवमा प्यारागाइडिङ गर्न आएका सानुवावु सुनुवारसँगै चढेर ताप्लेजुङ एफएमकी समाचार सम्पादक शान्ता आङ्वोहाङ्ले प्रत्यक्ष प्रशारण गरेकी हुन् । बुधवार ताप्लेजुङको आकाशमा प्यारागाइडिङ उडेपछि आफुपनि उड्ने र प्रत्यक्ष प्रशारण गर्ने रहर गरेकी उनलाई जोखिमपूर्ण हुने भन्दै सञ्चार माध्यम र परिवारले स्वीकृति दिन मानेका थिएनन् ।
तर आफ्नो इच्छा पुरा गराइदिन पटक/पटक अनुरोध गरेपछि रेडियो ताप्लेजुङका सञ्चालक समिति अध्यक्ष ईश्वरी पौडेलले प्यारागाइडिङका लागि अनुमति दिएका थिए । महोत्सवका मुख्य प्रायोजक समेत रहेका पौडेलनै प्यारागाइडिङको समुख ल्याएकोले उनको अनुमति अनुसार सानुवावुले उडाएका हुन् ।
अघिल्लो बर्ष प्यारागाइडिङ गर्ने क्रममा एक जना गम्भीर घाइते भएपछि यसलाइ जोखिमपूर्ण मानिएको थियो । बुधवार पनि एउटा प्यरागाइडिङ तोक्मेडाँडाको घरको छतमा अवतरण गरिएपछि झनै जोखिमपूर्ण मानिएको थियो । जिल्लावासीका लागि आकर्षक खेल मानिएपनि अवतरणस्थल उपयुक्त नभएको अनुभव प्यारागाइडरको छ ।
बिहीबार दुई घण्टा सम्म उड्दा जिल्लाका ३५ वटा गाउँ विकास समित लगायत पाँचथर, तेहृथुम जिल्लाका आकासमा उडेको शान्ताले वताएकी छन् । चढ्ने क्रममा पटक्कै त्रास नभएपनि ओरालो झर्दा र हावाले पल्टाउँदा सामान्य डर लागेको उनको अनुभव छ ।
शान्ताले सानुवावुलाई आफ्नो जन्मथलो चाँगे लगायतका गाउँ चिनाएकी थिइन् । सानुवावुका अनुसार उनको बुझाइमा यसरी महिला सञ्चारकर्मीले प्यारागाइडिङमा उडेर आकासवाटै प्रत्यक्ष प्रशारण गरेको यो पहिलो पटक हो ।
पश्चिमी क्षेत्रमा यसअघि दुई वटा एफएमले प्रयास गरेपनि सफल नभएको उनले वताए । प्रत्यक्ष प्रशारणका लागि ‘लाइभ डिभाइस’को प्रयोग गरिएको थियो ।



