आफूले मन पराएको केटासँग विवाह गर्न नपाउँदा १९ वर्षीया युवतीद्बारा आत्महत्या, बुटवलको नेपालगन्ज रोडमा रहेको जनप्रिय एन्ड लालकिरण होटलमा एक महिलाको शव फेला

गौशाला, काठमाडौं। काठमाडौंबाट प्राप्त समाचार अनुसार  आफूले मन पराएको केटासँग विवाह गर्न नपाउँदा आज बिहान महोत्तरीमा एक युवतीले आत्महत्या गरेकी छन् । मृत्यु हुनेमा जलेश्वर नगरपालिका-५ मा बस्दै आएकी राजेन्द्र पाण्डेकी छोरी १९ वर्षीया खुश्वुकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


त्यस्तै सोमबार साँझ डाम्ही मडै गाविसमा एक युवकले विषादी सेवन गरी आत्महत्या गरेका छन् । घरायसी विवादका कारण हिजोसाँझ करिब ५ बजे डाम्ही मडै-१ बस्ने फूलो सिंहका छोरा ३० वर्षीय सुनिलकुमारले विष खाएर ज्यान गुमाएका हुन् ।


दुवै मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

बुटवलको नेपालगन्ज रोडमा महिलाको शव भेटियो


बुटवल। बुटवलको नेपालगन्ज रोडमा रहेको जनप्रिय एन्ड लालकिरण होटलमा आज एक महिलाको बेबारिसे शव फेला परेको छ । होटलको कोठा नं १०७ मा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो ।


मृत अवस्थामा भेटिएकी महिलालाई कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । तीन दिनअघि सो होटलमा भारत नौतुनहाका हविल नामक व्यक्ति आई कोठा बुक गरेको होटल सञ्चालक टीकाबहादुर खड्काले बताउनुभयो ।
कोठामा पत्नी पनि बस्न आउने बताएका उक्त व्यक्ति फागुन २२ गते कोठामै ती महिलासँग बसी ताला लगाई बाहिरिएर २३ गते होटलमा नआएको होटल सञ्चालक खड्काले जानकारी दिनुभयो ।


महिलालाई युवकले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । शव अर्धनग्न अवस्थामा रहेको छ । महिलाको पहिचान हुन सकेको छैन ।

अन्य समाचारहरु