
२ सय ५१ प्रजातिका चराको आवाज निकालेर बोलाउनसमेत सक्ने र दुई दर्जन प्रजातिसँग दोहोरो संवाद गर्न सक्ने कलाबारे गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि आवेदन दिइसकेका उनले भने, ‘तोकिएको समयमा संविधान जारी नभए काग बोलाएर संविधानसभा हल घेराउँछु ।’
संविधान बनाउन आलटाल भएकाले दबाब दिन आफूले यसो गर्न लागेको उनले बताए । उनले यसअघि २०६४ मा संविधानसभा निर्वाचनका लागि दबाब दिन काग सम्मेलन गरेका थिए । त्यस्तै २०६५ कात्तिक १० गते काग तिहारमा बालकुमारीको सल्लाघारीमा काग बोलाएर पञ्चकन्या पूजा गरी विश्व शान्तिको कामना गरेका थिए । त्यसैगरी २०६६ मा परराष्ट्र मन्त्रालयभित्रै काग बोलाएका थिए ।
‘जंगलनजिक भए अरू चरा पनि बोलाउन सकिन्छ तर सहरमा काग मात्र उपलब्ध हुन्छन्,’ उनले भने, ‘संविधान नबने जेठ १४ का दिन संविधानसभा भवन कागहरूले घेर्नेछन् ।’ उनी चराबाहेक सात जनावरको आवाज पनि निकाल्छन् ।
सापकोटा पर्यटन वर्ष २०११ का सद्भावना दूत पनि हुन् । उनले २००८ विश्व वन्यजन्तु कोषको टसी लामा संरक्षण पुरस्कार, २००९ मा जेसिसको उत्कृष्ट युवा पुरस्कार र २०१० को उत्कृष्ट युवा पुरस्कार पाएका छन् । चरा बोलाउने क्रममै ६५ जिल्ला घुमिसकेका उनले ५ हजारवटा प्रमाणपत्र पाइसकेका छन् ।



