बसले मोटरसाइकललाई ठक्कर दिँदा पाल्पामा विद्यालय निरीक्षक र शिक्षकको मृत्यु

पाल्पा  – प्राप्त समाचार अनुसार पाल्पामा शुक्रबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार विद्यालय निरीक्षक र शिक्षकको मृत्यु भएको छ। गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८८१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ३ प ७२९ नम्बरको मोटरसाइकललाई पाल्पा मस्याम गाविस-४ नयाँबजारमा ठक्कर दिएको थियो।

मृत्यु हुनेहरूमा बुटवल नगरपालिका-१२ रुपन्देही घर भएका ५० वर्षीय बालकृष्ण पाण्डे र कपिलवस्तु-८ गजेहडा घर भई पाल्पा बस्दै आएका ४३ वर्षीय नारायणप्रसाद ज्ञवाली रहेका प्रहरी नायब उपरिक्षक गोविन्द थपलियाले बताए।

घाइते दुबै जनाको उपचारका क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुने पाण्डे जिल्ला शिक्षा कार्यालय पाल्पामा कार्यरत दोभान स्रोत केन्द्रका विद्यालय निरीक्षक हुन् भने ज्ञवाली पोखराथोकस्थित विष्णु उच्च माविका विज्ञान शिक्षक हुन्।

जिल्ला शिक्षा कार्यालयमा शुक्रबार काम सकेर बुटवलस्थित घरमा शनिबारको विदा मनाउन हिँडेका विद्यालय निरीक्षक पाण्डेले चलाएको मोटरसाइकललाई समान दिशातर्फ हिँडेको बसले ठक्कर दिएको हो। प्रहरीले बसका चालक र बसलाई नियन्त्रणमा लिएको जनाएको छ।

अन्य समाचारहरु