जापानमा नेपाली सुरक्षित

काठमाडौ –  प्राप्त समाचार अनुसार जापानमा  आएको महाभुकम्पका कारण बिचल्ली बेहोर्ने नेपालीको स्थिति पहिचान गर्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको छ ।

समाचार अनुसार टोकियोस्थित नेपाली दुतावासका उपनियोग प्रमुख डा.दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी रहेका छन् । समिति सदस्यहरुमा भुषण घिमिरे, गोबिन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, किरणबिक्रम थापा, राजन प्रधानाङ्ग, भवन भट्ट, सरोज कूडेललगायत छन् । ‘भुकम्प र सुनामीमा सबैभन्दा बढी प्रभावित फुकुसिमा र सेन्डाइमा केही नेपाली बिद्यार्थी, होटल व्यवसायी र भर्खरै गएका प्रशिक्षार्थी कामदार समेत रहेको थाहा भएको छ,’संयोजक सुवेदीले कान्तिपुरसंग फोनमा भने-‘उनीहरु सुरक्षित तवरमा एउटा खुला चौरमा बसेका छन्, जापान सरकारले खाद्यान्न राहत उपलब्ध गराएको छ ।’ समाचारमा आएजस्तो नेपालीहरु धेरै रहेको नागोया र ओसाका शहर भने असुरक्षित नरहेको उनले बताए । 

एनआरएनका उपाध्यक्ष एवं बिद्यार्थी प्रतिनिधि भुषण घिमिरेका अनुसार जापानमा रहेका १ लाख अमेरिकी सेना पनि अहिले पीडितको राहत तथा उद्वारमा जुटेका छन् । ‘सेन्डाइ शहरमा रहेका भाषा पढ्ने बिद्यार्थीमा केही सम्पर्कमा आएका छैनन् तर यसो भन्दैमा बेपत्ता भएको भन्न मिल्दैन । एकदिनदेखि बिजुली समेत नरहेको शहरमा मोबाइल चार्ज गर्न नपाएको अवस्था सृजिएको हुन सक्छ,’घिमिरेले भने । जापानमा पछिल्लो तथ्यांकअनुसार २० हजार जति नेपाली रहेकोमा शनिबार अपरान्हसम्ममा कोही हताहत भएको जानकारी दुतावासमा आएको छैन । राजधानी टोकियोमा ५ रेक्टरको मात्रै भुइचालो आएकाले युवाते, मियागी, फुकुसिमा, सेन्डाइजस्तो ठूलो क्षति र हताहत स्थिती समेत नरहेको दुतावासले जनाएको छ ।