धनकुटा – प्राप्त समाचार अनुसार मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार अपरान्ह पौने तीन बजे एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा संखुवासभा मादीमुलखर्क ६ का १९ वर्षीय अजय गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । धनकुटास्थित गोकुण्डेश्वर उच्च मावि कक्षा १२ मा अध्ययनरत गुरुङ साथीहरुसँग नुहाउन गएका बेला नदीले बगाएको हो ।
प्रहरी, स्थानीयबासी र उनका साथीहरुले साँझसम्म खोजी कार्य जारी राखेपनि फेला नपरेको प्रहरीले जनाएको छ । उक्त स्थानमा बनभोज खान जाने तथा नुहाउन जानेक्रममा वर्षेनी नदीले बगाउने गरेको स्थानीयले बताए ।
मामाघर गएर फर्कंदै गर्दा लडेर बालकको मृत्यु
बाग्लुङ- समाचार अनुसार मामाघर गएर फर्कंदै गर्दा यहाँका एक बालकको भीरबाट लडेर मृत्यु भएको छ ।
ताराखोला ४ की पार्वती सापकोटाका पाँच वर्षीय छोरा निर्मलको स्थानीय असमुखे भीरबाट लडेर शनिवार दिउँसो मृत्यु भएको प्रहरीले बतायो ।
भीरबाट लडेर गम्भिर घाइते भएका सापकोटालाई उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय पूर्ण चोखालले बताए । आसमुखे प्राविको कक्षा १ मा अध्ययनरत सापकोटा आमा पार्वतीसँगै मामाघरबाट घर फर्कंदै गर्दा अचानक भीरबाट लडेका थिए ।



