रसुवा, संखुवासभा भीषण हावाहुरीबाट प्रभावित

काठमाडौ – प्राप्त समाचार अनुसार बिहान ३ बजे चलेको भीषण हुरी बतासले रसुवा सदरमुकाम धुन्चेमा दर्जनौं घरका छाना उडाएको छ । तिब्र गतिले चलेको हुरी मध्यन्हसम्ममा पनि साम्य नभएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रदिप लामिछानेले बताए ।

 

जिल्लाको स्थानीयवासिन्दाको मात्र नभई सरकारी र गैरसरकारी कार्यालयका भवनका छाना सबै उठाएको उनले जानकारी दिए । त्यस्तै ईन्द्र बक्स गण,शिक्षा कार्यालयको पुुरानो भवन, हुलाक, कर्मचारी मिलन केन्द्र, दर्जन भन्दा बढी होटलका छाना हुरीबतासले उडाएको छ ।

 

अझै हुरी बतास चलिरहेकोले स्थानीयवासिन्दा घरका ढोका थुुनेर बसेका छन् । त्यस्तै हुरी बतासले गर्दा सरकारी कार्यालयमा आउने सेवाग्रही समेत नआएको लामिछानेले बताए । हुरीले गर्दा धुन्चे बजार पूरै बन्द छ ।

 संखुवासभा पनि हावाहुरीले  प्रभावित

समाचार अनुसार संखुवासभा, १ चैत- मंगलबार बिहानदेखि आएको हावाहुरीले मकालु गाविसमा करिव १ करोड रुपैयाँको क्षति पुर्‍याएको छ । मकालु-१, २, ४, ५ र ६ वडाका प्रायः सबै घरका छाना हावाले उडाएको प्रहरी प्रमुख शेखर कोइरालाले बताए ।

मकालुमा रहेको प्रहरी चौकी, हेमान्द्री मावि र अन्य सरकारी कार्यालयका छाना सबै उडाएको कांग्रेसका सभापति तथा मकालुबासी तारामान गुरुङले बताए । उनका २ घर र कटेराको छानोसमेत उडाएपछि परिवारलाई बस्न समस्या भएको उनको भनाइ छ । मकालुमा मात्र करिव १ हजार घरका छाना छैनन् भने त्यसको क्षति करिव एक करोड पचास लाख रुपैयाँ हुने प्रहरीको अनुमान छ ।

जिल्लाका सबै क्षेत्रमा बिहानैदेखि हावाहुरी आइरहेको छ । हावाका कारण धुलो उडेर हिड्न सक्नेअवस्था छैन भने अधिकांश गाउँमा हावाहुरीले घरका छाना उडाएको, रुख र बुट्टा भाचेको स्थानीयले टेलिफोनमा बताएका छन् ।

अन्य समाचारहरु