बाजुरामा जहाज कुर्दाकुर्दै गर्भवतीको ज्यान गयो

बाजुरा  – प्राप्त समाचार अनुसार चार दिनअघि नै गर्भमा रहेको शिशुको मृत्यु भइसकेका समयमा सुविधा सम्पन्न अस्पतालमा लान नसके ज्यान जाने निश्चित भएको बताउँदै आएको स्वास्थ्यकर्मीहरुको सल्लाह अन्ततः सत्य सावित भएको छ ।

 

बाजुराको गोत्री-५ थारीकाँडा घर भएकी ४० वर्षीया नन्दुदेबी डडालको जहाज कुर्दाकुर्दै शनिवार बिहान ४ बजे मृत्यु भएको छ । एक सातादेखि जहाजको पखाईमा रहेका विरामीका परिवारमा अहिले रुवावासी चलेको छ ।

 

एकसाताअघिदेखि प्रसूति ब्यथाले सिकिस्त भएकी नन्दुदेबीलाई एक दिनको पैदल बोकेर कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका भएपनि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले उनको गर्भमा भएको शिशुको मृत्यु भइसकेकोले आमाको ज्यान जोगाउन शल्यक्रिया हुन सक्ने अस्पतालमा लैजान सल्लाह दिएका थिए ।

स्वास्थ्यकर्मीकै सल्लाह अनुसार डाडल परिवारले ऋण काढेर नन्दुदेबीलाई नेपालगञ्ज लान जहाजको टिकट समेत लिएका थिए । चार दिनदेखि जहाजको बाटो पर्खदा पर्खदै जहाज आएन तर कालले भने नन्दुदेबीलाई पर्खेन । जिल्लास्थित प्रमुख जिल्ला अधिकारी लगायत सरकारी अधिकारीहरु, जिल्लाबाट प्रतिनिधित्व गर्ने तीनटै सभाषदहरु र सबै राजनीतिक दलका प्रमुखहरुलाई हवाई उडानको प्रबन्ध मिलाई दिन आग्रह गर्दै आएका भए पनि कसैबाट केही काम हुन नसकेपछि अहिले मृतक डडालका पती भैरे लगायत देवर दया डडाल विक्षिप्त भएका छन् । उनीहरु भनिरहेका छन् ‘गरीबका लागि कोही सहारा भएन ।’ नन्दुदेबीबाट दुईटा बच्चा छन् ।

नन्दुदेवी तीनदिनदेखि बेहोस अवस्थामा थिइन् । स्वास्थ्यकर्मीहरुले उनको प्राण लामो समयसम्म नचल्ने बताउदै आएका थिए । चिकित्सक विहिन यस केन्द्रमा उनको स्याहार अनमीहरुले गर्दै आएका थिए । नेपालगञ्जसम्म पुर्‍याउन सकिएको भए उनको ज्यान बचाउन सकिने थुप्रै सम्भावना औंल्याउदै आएका स्वास्थ्यकर्मीहरु समेत आफूहरु निक्कै दुखी भएको बताउछन् । ‘पाच दिनको अवधि सम्म पनि जहाज नआएपछि उनलाई कालले पर्खेन’ अनमी प्रमिला बिष्टले भनिन् ।

हवाई भाडादर बृद्धिको विरोध गर्दै नेपालगञ्ज र कोल्टीमा विरोध प्रर्दशन भएकाले उडान हुन नसकेको हवाई उड्डयनका कर्मचारीहरुले बताएका छन् ।

तीनदिनअघिदेखि नै डडालको अवस्थावारे जानकारी गराउँदै हवाई सेवाका लागि पहल गरीरहेका बाजुराका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख समेत आफूहरुको प्रयास सफल हुन नसकेर डडालको अकालमा ज्यान गएकोमा निक्कै दुखी भएको बताउछन् । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने, ‘हामीले हरसम्भव प्रयास गरेका थियो तर केही चलेन ।’

अन्य समाचारहरु