काठमाडौँ । बिबिसी नेपाली सेवाले उल्लेख गरे अनुसार बिबिसी विश्व सेवाले चैत १३ गतेदेखि सर्टवेभ ट्रान्समिसन बन्द गर्ने घोषणा गरेपछि आम नेपालीको सहज समाचार प्राप्त गर्ने अधिकार बन्द हुने भन्दै नेपाली सञ्चारकर्मी तथा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् ।
बिबिसी नेपाली समाचारका स्रोताहरु नेपालमा धेरै भएको र बन्द हुदा ग्रामीण क्षेत्रलगायतका श्रोताले सजिलै सूचना प्राप्त गर्न नसक्ने भन्दै सर्टवेभ ट्रान्समिसन बन्द नगर्न भन्दै उनीहरुले नेपालस्थित बेलायती दूतावासमार्फत बेलायती सरकारलाई समेत अनुरोधपत्र बुझाएका छन् ।
तेत्तीस जना पत्रकार तथा मानवअधिकारकर्मीले संयुक्तरुपमा हस्ताक्षर गरी बुझाइएको सो अनुरोधपत्रमा बिबिसी सेवाले सर्टवेभ ट्रान्समिसन बन्द गरे नेपालका लाखौँ श्रोता सूचनाबाट वञ्चित हुने र यसले बेलायती सरकारमाथिको दृष्टिकोणमा समेत परिवर्तन आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मुलुकमा प्रजातन्त्र ल्याउन तथा प्रजातन्त्र सङ्कटमा परेको बेला जोगाउने कार्यमा बिबिसी नेपाली सेवाको ठूलो भूमिका रहेको भन्दै उनीहरुले विगतका वर्षहरुमा सूचनाको अधिकारलाई अङ्कुस लगाउँदा तथा नेपाली एमएफ रेडियोमाथि नियन्त्रण गर्दा सूचना सम्प्रेषण गर्ने काममा यसले नेपालमा ठूलो योगदान दिएको समेत स्मरण गरेका छन् ।
नेपाली एफएम रेडियोको पहुच पुग्न नसकेका दुरदराजका गाउँ बस्तीहरुमा विद्युत् बिना व्याट्रीको भरमा पनि सर्टवेभ ट्रान्समिसन सेवाबाट बिबिसी नेपाली सेवा प्रष्ट सुन्न सकिने भएकाले कम्तीमा नेपाली एमएफको पहुँच सबै नेपालीमा पुग्न नसकुञ्जेलसम्म सेवा नरोक्न बेलायती सरकारलाई आग्रह गरिएको वरिष्ठ पत्रकार गोकुल पोखरेलले बताउनुभयो ।
आर्थिक कारण देखाउँदै चैत १३ अर्थात मार्च २७ तारिखदेखि सो ट्रान्समिसन बन्द गर्ने घोषणा गरिएको छ ।