राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको ४५ प्रतिशत जनसंख्यामा क्षयरोगको जीवाणु छ । तर रोग प्रतिरोधक क्षमता राम्रो भएका कारण यो संक्रमण देखिँदैन । मुलुकमा ४० हजार व्यक्तिलाई बर्सेनि क्षयरोग हुन्छ । वर्षमा २० हजार नयाँ खकार पोजिटिभ केस देखिन्छ । यस्तै मुलुकमा वर्षमा पाँचदेखि सात हजार व्यक्तिको मृत्यु क्षयरोगले हुने गरेको केन्द्रले जनाएको छ । छिमेकी मुलुक भारतको स्थिति पनि ठीक छैन । भारतमा भने प्रत्येक तीन मिनेटमा दुई व्यक्ति क्षयरोगले गर्दा मर्छन् ।
डब्लूएचओका अनुसार दक्षिण-पूर्वी एसियाका ११ राष्ट्रमा वर्षमा २० लाख व्यक्तिलाई सफलता पूर्वक क्षयरोगको उपचार गर्ने गरिन्छ । यसले गर्दा यो क्षेत्रमा क्षयरोगीको संख्यामा निरन्तर कमी आएको छ । हाल यो सन् १९९० को दाँजोमा एकचौथाई कम छ । जबकि मृत्यु हुनेको संख्यामा भने ४४ प्रतिशतले कमी आएको छ ।
‘गत दशकमा उल्लेखनीय प्रगति देखिएको छ, हाम्रो सबैभन्दा राम्रो रणनीति प्रत्यक्ष निगरानीमा गरिने उपचार -डट्स) हो,’ डब्लूएचओ दक्षिण-पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा.सामली भन्छन्, ‘गुणस्तरयुक्त औषधिको निरन्तर आपूर्ति र प्रभावकारी रूपमा क्षयरोग पत्ता लगाउने कुरा
हामीले सुनिश्चित गर्नुपर्छ ।’
दक्षिण-पूर्वी एसियामा भने
एक लाख ३० हजार व्यक्ति बहुऔषधि प्रतिरोधि क्षयरोग -एमडीआर) को सिकार छन् । एमडीआरको उपचार एक सय गुना महँगो छ । नयाँ क्षयरोगीमा डट्स उपचारले एमडीआर क्षयरोगीको संख्यामा समेत कमी ल्याउनेछ ।
‘नेपाल लगायतका दक्षिण एसियाली राष्ट्रमा क्षयरोग फैलिने मुख्य कारण यो रोगबारे जनचेतनाको कमी र संक्रमणको प्रारम्भिक अवस्थामा गम्भीरता न देखाउनु हो,’ सार्क क्षयरोग र एचआईभी एड्स केन्द्र एवं राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.काशीकान्त झा भन्छन्, ‘क्षयरोग जोसुकैलाई हुनसक्छ, जानकारीको अभावमा यो रोग समाजमा लुकेको अवस्था छ ।’



