महेन्द्रनगरको फर्निचर उद्योगमा भीषण आगलागी, लाखौं मुल्यको काठ र स्टील लगायतको कच्चा पदार्थ जलेर नष्ट

– चित्रांग थापा

 

महेन्द्रनगर –  महेन्द्रनगर बजारको ५ नं. गल्लीमा रहेको मेहरा फर्निचर उद्योगमा सोमबार अपरान्ह आगलागी हुँदा लाखौं मुल्यको तयारी फर्निचर तथा फर्निचर उद्योगको लाखौं मुल्यको काठ र  स्टील लगायतको कच्चा पदार्थ जलेर नष्ट भएकोछ ।

उद्योगको सोरुम पछाडि टिनको टहरामा रहेको कारखानामा दिउँसो अढाइ बजेतिर आगलागी भएको हो । दिउँसो ४ बजेसम्म पनि आगो पुरै नियन्त्रण आउन सकेको छैन् । आगो निभाउन जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानिय वासिन्दा जुटेका छन् । स्थानिय नगरपालिकाको १ दमकलका कर्मचारी  पनि आगो नियन्त्रणमा जुटेकाछन् ।

सानो मुस्लोको रुपमा शुरुमा देखा परेको आगो फैलिएर १ घण्टा भित्रै पुरै कारखाना जलेर स्वाहा हुन पुग्यो । आगलागी बाट क्षेत्रपाल मेहरा र उनका भाइ हरिपाल मेहराको फर्निचर कारखाना पुरै जलेर नष्ट भएको हो ।

‘कारखाना संगै जोडिएको पसलमा बसेको थिए,’ एकासी आगोको मुस्लो देखा पर्‍यो हेर्दा हेर्दै सवै स्वाहा भयो,’ क्षेत्रपालले भने । आगो के कसरी लागेको हो थाहा हुन नसकेको उनले बताए । पसलमा राखेको  केहि तयारी फर्निचर जोगाउन सकिए पनि बाकी पुरै जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट कुनै मानविय क्षति नभएको प्रहरी नायव उपरीक्षक बहादुर जंग मल्लले बताए । ‘बजारको मुख्य भागमा आगलागी भएका कारण सुरुमा आगो फैलिने खतरा देखिए पनि ४ बजे सम्म लगभग नियन्त्रण हुन लागेको,’ उनले बताए ।

अन्य समाचारहरु