गुल्मी जाँदै गरेको बसका यात्री सँगै सिटमा बसेका साथीबाट लुटिए

काठमाडौंबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको बसका यात्रीसँगै सिटमा बसेका साथीबाट लुटिएका छन्।  गुल्मीको अर्खलेस्थित घर जाने क्रममा ४३ वर्षीय इन्द्र बहादुर घर्ती गएराति लुटिएका हुन्।


श्रीमतीको वार्षिकी गर्न उनी केही दिनअघि मात्र अफगानिस्तानबाट नेपाल आएका थिए। उनको साथबाट १ लाख ५० हजार नगद लुटिएको छ।

 

लु १ ख ५९७० नम्बरको रात्रिवसमा घर जाने क्रममा सँगै सिटमा बसेका दीपक नाम गरेका व्यक्तिले बेहोश बनाइ रकम लुटेको खुलेको छ।

उनीहरुले नवलपरासीको सुनवलमा सँगै खाना खाएका थिए। दीपकले खानामा नशालु पदार्थ मिसाइ खान दिएको हुन सक्ने आशंका गरिएको थियो।


खाना खाएपछि बेहोस भएका घर्तीले आज बिहान गुल्मीको थोर्गा पुगेपछि मात्र आफू लुटिएको थाहा पाएका थिए। घर्तिले आफू लुटिएको हल्ला गरेपछि प्रहरीले बसका सबै यात्रुको खानतलासी गरेको थियो। त्यति बेलासम्म उनीसँगै बसेका दीपक भन्ने व्यक्ति भने राति नै भागेका थिए।


उनी गुल्मीको रिडीमा ओर्लिएको यात्रुले बताएका छन्। सामान्य होशमा आएका घर्तिको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।

अन्य समाचारहरु