युनिटी लाइफ इन्सुरेन्स बन्द गराउने निवर्तमान सरकारलाई खलनायक भन्ने कार्यकर्ताले नाराबाजी गर्दै भने-खनाल-दाहाल नायक हुन्

सरकारले खारेज गरिसकेको युनिटी लाइफ इन्टरनेसनलका कार्यकर्ताले प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नायक भएको भन्दै नाराबाजी गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा खुल्ला गर्न धर्नामा बसेका उनीहरुले पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई खलनायकको रुपमा प्रस्तुत गरे।



सानेपास्थित कार्यालयमा धर्ना बसेका युनिटी लिडर र कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेर साँझ छाडेको छ। मंगलबार युनिटीका २९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।युनिटीलाई खुलाउन यसका लिडर र कार्यकर्ताहरुले गत सातादेखि कांग्रेस, एमाले र माओवादीको केन्द्रिय कार्यालयमा धर्ना बसिरहेका छन्। एमाले र माओवादी कार्यालयमा धर्ना बस्नेहरुलाई प्रहरीले पक्राउ भने गरेको छैन।


कांग्रेस कार्यालयमा बस्नेलाई भने प्रहरीले तत्काल पक्राउ गरेर साँझ छाड्दै आएको छ। ‘हामी युनिटीको विषय टुंगो नलागेसम्म धर्नामा बस्न छाड्दैनौं,’ युनिटी लिडर कृष्ण कार्कीले भने। माओवादी समर्थनमा झलनाथ खनाल सरकार गठन भएपछि युनिटीका लिडर एवं कार्यकर्ता सल्बलाउन थालेका हुन्।


उनीहरुले वर्तमान प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘नायक’ र पूर्व प्रधानमन्त्री माधब नेपाल एवं तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ‘खलनायक’को रुपमा चित्रण गर्दै आएका छन्।