मजदुरले बन्द हडताल गर्ने पक्षमा मतदान दिए

तीन वटा ट्रेड युनियन र नेपाल उद्योग वाणिज्य महासंघबीच साढे चार वर्षसम्म बन्द हडताल नगर्ने सहमति भएको दुई साता बित्न नपाउँदै विराटनगरस्थित स्याटेलाइट टेक्नोलोजी म्यानेजमेन्ट (एसटिएम) का मजदुरहरुले हडताल गर्ने पक्षमा मतदान गरेका छन् ।


श्रम ऐन २०४८ को दफा ७६ को उपदफा एक बमोजिम भएको निर्वाचनमा शतप्रतिशत मत हडताल गर्ने पक्षमा परेको थियो । कुल ७० मतमध्ये ६२ मत खसेको थियो जसमध्ये कसैले पनि हडताल नगर्ने पक्षमा मतदान गरेनन् । मतदानका लागि कोहलपुर, रुकुम, रोल्पा, पोखरा, काठमाण्डौं लगायतका कार्यालयबाट मजदुरहरु विराटनगर आएका थिए ।


मतदानपछि मजदुरहरुलाई आफ्ना माग पुरा गर्न दबाब स्वरुप हडताल गर्न पाउने कानुनी अधिकार सुरक्षित भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । निर्वाचनपछि बढ्दो महङ्गीको अनुपातमा तलव, सुविधा बृद्धि नभएको, प्रत्येक दुई वर्षमा तलव बृद्धि नभएको जस्ता विषयमा हडताल गर्न मजदुरलाई बाटो खुलेको उनीहरुले बताए । श्रम ऐनले हडताल गर्ने या नगर्ने विषयमा मतदान गरी निर्णय गर्ने अधिकार दिए बमोजिम निर्वाचन भएको हो ।

अन्य समाचारहरु