स्याङ्गजा सहयोग समाज यूएईले शुभकामना आदानप्रदान सम्पन्न गर्यो

-विरही रिजाल, यूएई


अर्घाखाँची टाईम्स यूएई डेस्क -गत ८ अप्रिल २०११ शुक्रवारका दिन स्याङ्गजा सहयोग समाज, यूएईले दुबइको एभरेष्ट इन्टरनेशनल होटलमा एक समारोहका बीच नयाँ वर्ष वि.सं. २०६८ लाई स्वागत गर्दै शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।


समाजका अध्यक्ष चन्द्र रोकाहाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा समाजका प्रतिनिधि,सल्लाहकारहरु र शुभचिन्तकहरुको बृहत् उपस्थिति रहेको थियो भने उपस्थित सबैले आगामी नयाँवर्षले सबैमा खुशियाली र उज्यालो ल्याओस् भन्दै शुभकामना प्रकट गरेका थिए ।


सोही दिन संस्थाका केन्द्रिय सदस्यहरुद्वारा बैठक पनि सम्पन्न गर्दै र्सवसम्मतिबाट नयाँ विधान पारित गरेका छन् । गत ०७ जनवरी २०११ का दिन गठित स्याङ्गजाली समाज,यूएईको केन्द्रिय तदर्थ समितिले संस्थाको नाम परिवर्तन गरी स्याङ्गजा सहयोग समाज,यूएई नामाकरण गर्दै सो विधान पारित गरिएको हो।


विधान मस्यौदा तयारी समितिका संयोजक गिरधारी रिजालले प्रस्तावित विधान पारित गरियोस् भन्दै समितिसमक्ष राखेपछि सल्लाहकार यमलमल शर्मा पंगेनीले यसको विश्लेषण गरेका थिए भने समितिले व्यापक रुपमा छलफल गरेर र्सवसम्मतिले पारित गर्यो ।


नयाँ वर्ष वि.सं. २०६८ सालको शुरुवातसगै समाजले आफ्नो लक्ष्य अनुरुप स्याङ्गजा जिल्लाको हरेक  गा.वि.स. वडा नं. ४ मा अवस्थित श्री टापू भञ्ज्याङ्ग राष्ट्रिय नि.मा.वि. लाई पुरस्कार वितरण स्वरुप विभिन्न सहयोग गर्न यमलाल शर्मा पंगेनीको संयोजकत्वमा रु. एक लाख बराबरको अक्षयकोष स्थापना गरी नेपाल बैंक लिमिटेड शाखा कार्यालय वालिङ्गमा खाता खोलिसकेको पनि अध्यक्ष चन्द्र रोकाहाले जानकारी दिएका छन्।