पाल्पा – पाल्पाको पुर्व दर्छाको कीर्तिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दर्छाको कीर्तिपुरबाट रजघरा आउँदै गरेको सिमलगैरा मोठारमा दुर्घटना हुँदा दर्छा-६ का १५ बर्षका तारा मश्राङ्गीमगर र बाकामलाङ्गका १२ वर्षीय शरण सारुमगरको मृत्यु भएको हो । लु १ त ८७९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुर्घटना परी दर्छा-६ का १७ वर्षीय मनोज सुर्यबशीमगर, सोही ठाउँकै १५ बर्षका कपिल गाहामगर र दर्छा-६ कै १७ वर्षीय बसन्त मल्ल घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
सुर्यबंशीको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि सदरमुकाम तानसेन ल्याइएको छ । गिटी लिएर रजघरातर्फ आउदै गरेको ट्याक्टर ‘ब्रेक फेल’ भएकाले दुर्घटना भएको प्रहरीले बताएको छ ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
वस दुर्घटनामा तीनको मृत्यु, ४७ घाइते
मंगलवार राति अछामबाट नेपालगंजका लागि हिंडेको भे १ ख ५६७ नम्बरको बस डडेलधुरा सदरमुकामदेखि १० किलोमीटर टाढा रडुवा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकदेखि करिव सय मिटर तल खोलामा खसेको बसमा सवार अछाम नन्देगढाकी ५६ वर्षीय नन्दादेवी साउद, अछाम नवखाँडाका ८ महिने बालक खगेन्द्र बोहरा र सनाखत हुन नसकेको एकजनाको गरी तीन जनाको मृत्यु भएको छ ।
राति करिव ११ बजे भएको दुर्घटनामा अन्य ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । घाइते मध्ये ज्योतिनगर बाँकेका राजु शाह , सिन्धुलाल्चोकका जीतबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते सबैलाई नेपालगन्ज मेडीकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको टीम अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।



