काठमाडौ – सर्वोच्च अदालतको आदेशअनुसार संविधानसभा सचिवालयले सभासद् श्यामसुन्दर गुप्ताको पद समाप्तीको घोषणा गर्ने तयारी गरेको छ । संभवतः आइतबार संविधानसभा बैठक डाकी उनको पद रिक्त भएको सूचना सुनाइने छ । उनी मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ जनाको कोटामा सभासद् भएका थिए ।
सर्वोच्चका न्यायाधीश बलाराम केसी र भरतराज उप्रेतीको संयुक्त इजालाशले गत माघ २८ गते गुप्ताको मनोनय सहमतिका आधारमा नभएको ठहर गर्दै उनको पद खारेज गर्ने फैसला सुनाएको थियो । फैसलाको पूर्ण पाठसहित सर्वोच्चले संविधानसभा सचिवालयलाई पद खारेजका लागि आवश्यक कारावही गर्न पत्र पठाएको हो ।



