टेलिफोनको माध्यमबाट चिकित्सकसँग स्वास्थ्यसम्बन्धी सल्लाह लिनसक्ने सेवा सुरु

काठमाडौँ  – टेलिफोनको माध्यमबाट चिकित्सकसँग स्वास्थ्यसम्बन्धी सल्लाह लिनसक्ने सेवा आईओएम स्मार्ट हेल्थलाइन’ आजदेखि सुरु भएको छ।


उपप्रधानमन्त्री तथा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज र स्मार्ट टेलिकमद्वारा सञ्चालित आईओएम स्मार्ट हेल्थलाइन’ को उद्‌घाटन गरे।


स्वास्थ्य र सूचनाको समागमबाट मेडिकल सल्लाह उपलब्ध हुने यस्तो किसिमको सेवा नेपालमा पहिलोपटक थालनी भएकोमा प्रसन्नता व्यक्त गर्दै उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री महराले यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने बताए।


यस सेवाबाट सर्वसाधारण र ग्रामीण भेगका नागरिकले सहजरुपमा स्वास्थ्य परामर्श पाउन सक्ने विश्वास उनले व्यक्त गरे।


यस सेवाअन्तर्गत स्मार्ट सेल र स्मार्ट स्याटका हालका एक लाख ग्राहकले आफ्नो फोनबाट ४२५० मा सम्पर्क गरी जिज्ञासा राखेमा शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले फोनबाटै सम्भव भएसम्मको सुझाव दिनेछन्।


यो सेवा हाललाई सार्वजनिक विदाको दिनमा बाहेक हरेक दिन १० बजेदेखि ५ बजेसम्मको समयमा उपलब्ध हुनेछ। यसबाट स्वास्थ्य समस्याको समाधान, आपत्कालीन अवस्थामा अस्पताल नपुर्‍याइन्जेलसम्मको सल्लाह, विभिन्न औषधि तथा मेडिकल रिपोर्ट आदिबारेमा थप जानकारी लिन सकिनेछ।


सो अवसरमा चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा अरुण सायमिले यस प्रकारको पवित्र सामाजिक सेवामा सहकार्य गर्न पाउँदा उत्साहित भएको भन्दै आम जनताको स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकता पूर्तिका लागि दूरसंचार प्रविधिको प्रयोगबाट नेपालमै प्रथम पहल गरिएको बताए।


स्मार्ट टेलिकमका प्रमुख कार्यकारी सुभाष बज्राचार्यले यस सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गरिने जानकारी दिए। रासस

अन्य समाचारहरु