९१ लाख फिर्ता दिएको काल्पनिक घटना प्रकरणको छानबिन सुरु

इटहरी  – बसमा फेला पारेको ९१ लाख रुपियाँ फिर्ता दिएको भनी चर्चामा आएकी भोजपुर भुल्केकी अनुजा बानियाँबारे प्रहरीले सोमबारदेखि अनुसन्धान थालेको छ। डेढ साताअघि फेला पारेको पैसा फिर्ता दिएका भनिएका व्यक्ति काल्पनिक भएपछि प्रहरीले उनमाथि अनुसन्धान थालेको हो।


आफ्ना दाजु भाउजूसँग धरानमा डेरा गरी बस्दै आए पनि पैसा फिर्ता गरेको समाचार प्रकाशन\प्रसारण भएलगतै इटहरीमा दिदी भिनाजुसँग बस्दै आएकी अनुजालाई बसेकै स्थानमा गएर धरानका डिएसपी दीपक रेग्मीको नेतृत्वको टोलीले बयान लिएको छ।


प्रहरीले उनीसँग बयान लिएको जिल्ला प्रहरी प्रमुख भूपालकुमार भण्डारीले पुष्टि गरेका छन्। प्रहरीले अनुजाले पैसा फिर्ता गरेर चर्चामा आउन नाटक रच्दा सम्पर्क गरेका टेलिफोन नम्बर प्रमाणित गर्ने काम भइरहेको भण्डारीले जानकारी दिए।

अनुजाले काठमाडौं सितापाइलाका ६५ वर्षीय पुरुषोत्तम पोखरेलको पैसा र हीराको हार भेटाएर फिर्ता गरेको भनी चर्चामा आएकी थिइन्। उनले भेटाएको पैसा फिर्ता लिने क्रममा धरान गएका भनिएका सबै व्यक्ति अहिलेसम्म काल्पनिक बन्न पुगेका छन्।

अन्य समाचारहरु