
महिला पनि कम छैनन् भन्ने भनाइ चरितार्थ पार्न यतिबेला उनीहरू अहोरात्र शान्ति सुरक्षा कायम गराउन खटिरहेका भेटिन्छन् । ‘महिलाले अधिकारमात्रै खोजेर भएन, काम गरेर पनि देखाउन सक्नुपर्छ,’ चौकी प्रमुख प्रहरी नायब निरीक्षक रानाभाटले भनिन्, ‘अहिले हामीले जिम्मेवारी पाएका छौँ, त्यसलाई अवसरका रूपमा लिएर काम देखाउन लागिपरेका छौँ ।’
उनले सातायता विभिन्न अपराधमा संलग्न दर्जनभन्दा बढीलाई पक्राउ गरेको जानकारी दिइन् । सुरुमा परीक्षणका रूपमा ६ जना प्रवेश गरेको चौकीमा अहिले सबै महिला छन् ।
दुईजना आइपुगेपछि १५ जनाको टोली चौकीमा कार्यरत हुनेछ । उनीहरूले पोखरा १७ का साथै निर्मलपोखरी, पुम्दीभुम्दी र कृस्तीनाच्नेचौर गाविसलाई हेर्ने जिम्मेवारी पाएका छन् । उनीहरूलाई स्थानीय आमा समूहले पनि खुलेर सहयोग गरेका छन् ।
‘चौकीमा सबै महिला भएपछि हामीलाई धेरै सजिलो भएको छ,’ स्थानीय पार्वती गुरुङले भनिन्, ‘छोटो अवधिमै यहाँ आएर महिला प्रहरीले आपराधिक क्रियाकलाप न्यूनीकरण गरेका छन् ।’ प्रहरी हवल्दार सविता जिटीले भनिन्, ‘यत्रो चौकीको जिम्मेवारी आएपछि काम गरेर देखाउने बेला बल्ल आएको छ ।’ उनी जस्तै यहाँ कार्यरत महिला प्रहरी समाजको हितमा काम गरी चौकीलाई नमुना बनाउन अहोरात्र लागिपरेका छन् ।



